पल शाहलाई पुर्पक्ष थुनामा पठाउन आदेश

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ – कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबरजस्ती करणी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो।

शाहले एक नाबालिकालाई नवलपरासी पूर्वमा पर्ने एक रिसोर्टमा २०७७ चैत ७ गते करणी गरेको भन्दै पीडितका आफन्तले किटानी जाहेरी दिएका थिए। फागुन ११ गते शाहविरुद्ध किटानी जाहेरी परेपछि उनी फागुन १५ गते आफै प्रहरीकहाँ पुगेका थिए।

अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालतमा शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो। बुधबार र बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतले शाहलाई थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

बालिका १४ देखि १६ वर्ष उमेर समूहकी भएकाले जिल्ला वकिलले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको छ। मुलुकी अपराध संहिता २०७४ ले १८ वर्षभन्दा कम उमेरकी नाबालिकासँग लिएको सहमतिलाई सहमतिका रुपमा लिन नहुने व्यवस्था गरेको छ। अभियोगपत्रमा जिल्ला सरकारी वकिलको कार्यालयले पीडितलाई क्षतिपूर्तिको मागसमेत गरेको छ।

शाहविरुद्ध तिनै बालिकाविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा गैंडाकोटमा पनि किटानी जाहेरी परेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us