वैदेशिक रोजगारीमा जाने बढ्दै, रेमिट्यान्स घट्दै

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट ४ लाख ५१ हजार ६६ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।

बितेका ११ महिनामा प्रत्येक महिना औषतमा ४१ हजार ६ जनाले श्रम स्वीकृति लिएको देखिन्छ । यही अनुपातमा चैत महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे वर्ष २०७८ मा करिव ५ लाख जनाले श्रम लिनेछन् ।

विभागका अनुसार २०७८ सुरु भएपछि वैशाखमा २४ हजार ३६३, जेठमा ४ हजार ८६, असारमा २० हजार ६५८, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७० र फागुनमा ५३ हजार ४५७ जनाले श्रम स्वीकृति लिएका छन् ।

कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्कन खोजेको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकतृ कृष्णप्रसाद भुषालका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या मात्र ३० हजार थियो । चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या घरिव ३ लाख रहेको छ ।

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो ।

कोरोना महामारी सुरु भएको वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।

यस वर्ष भने श्रम स्वीकृति लिनेको संख्या पुरानै अवस्थामा फर्कन लागेको छ । चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको आठ महिनामा (साउनदेखि फागुनसम्म) ४ लाख ४ हजार ९६३ जनाले श्रम स्वीकृति लिइसकेका छन् । अर्थात चालु आर्थिक वर्षमा प्रत्येक महिना औषतमा ५० हजार ६२० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिन्छ ।

यही गतिमा श्रम स्वीकृति लिनेको संख्याले आउँदा चार महिनासम्म निरन्तरता पाए चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिने देखिन्छ ।

अघिल्लो दुई वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा त्यसको असर नेपाल भित्रने रेमिट्यान्समा परेको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us