एनआरएनए जापान निर्वाचन विवाद बारे परराष्ट्र मन्त्रालयद्वारा चासो व्यक्त (पत्रसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ ।
अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनको वैधताका बारेमा प्रश्न उठेको जनाएको छ ।
जापानको निर्वाचनमा धाधली भएकोमा विश्वस्त जस्तै देखिएको परराष्ट्र मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत जानकारी गराउनका लागि निर्देशन गरिएको छ ।
बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित अन्तराष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको, अगष्ट १५ पछिपनि प्रतिनिधिको विवरण पठाइएको, उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रत्रियामा सामेल भएको पाइएको, निर्वाचन आचार संहिताको पालना नगरि उलंघन गरिएको लगायतका गुनासा पाइएकोले त्यसको यथार्थ जानकारी दिनका लागि भनिएको छ ।
दशौ अधिवेशनबाट चयन गरिएको अध्यक्ष मण्डलले निर्वाचनका सम्बन्धमा असन्तुष्ट ३० जना निर्वाचनमा पराजित उम्मेदवारहरुले उजुरी गरेपछि राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन समिक्षा समिति गठन गरेको थियो । सो समितिले गत हप्ता ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिङ लिकं एउटै मेलमा प्राप्त गरि २९०४ मत खसालिएको पाइएकाले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

स्वच्छ र निष्पक्ष निर्वाचनको भावना बिपरित जापान एनआरएनएको निर्वाचन- समिति

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद जापानको निर्वाचनमा स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित अनाधिकृत रूपमा मतदान गरिएको पाइएको छ ।
निर्वाचन समीक्षा समितिले आइतबार २९२ पृष्ठको लामो प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरि २ हजार ९ सय ४ मत अनाधिकृत रूपमा मतदात प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरिएको छ ।
गत जुलाई ३० तारिक सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसंगै पराजित भएका २९ जना उम्मेवदारहरुले मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भनि अध्यक्ष मण्डलमा उजुरी गरेपछि राजन प्रधानाङ्गको समयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो ।
कुल मत ७ हजार ७ सय ५७ खसेकोमा ग्रुप मेलबाट २९०४ र सिंगल ईमेल दर्ता भएका बाट ४८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताईएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटा देखि ४९६ सम्म मत राखिएको छ । निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरित ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २९७० मतदाताको सदस्यता बनाईएको त्यसमध्य ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानाङ्गले बताए ।

छानबिन समितिले आफ्नो निश्कर्षमा भनेको छ “यस्ता ग्रुप ईमेलहरु प्रयोग गरि धेरै भन्दा धेरै सदस्यहरुको भोटिङ लिंक एउटै ईमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वच्छ र निष्पक्ष निर्वाचनको भावना बिपरित भएको देखिन्छ ।”

रिपोर्टका अनुसार मतदाताले कतिसम्म गरेका छन् भने ईमेलहरुपनि प्लस (+) र डट (.) प्रयोग गरेर समुहगत ईमेलहरुको प्रकृति मा नै परिवर्तन गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal