शंकर शर्मा भारतका लागि राजदूत नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन् । शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो । तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो । तत्कालीन राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि केही महिनादेखि नयाँदिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन थियो ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो ।
तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो । अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उनी नियुक्त भइसकेका छन् ।
