एनआरएनए औपचारिक रुपमा फुटको संघारमा, घले पक्षद्वारा छुट्टै निर्वाचन समिति गठन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको झण्डै १९ बर्षपछि औपचारिक रुपमा फुटको संघारमा पुगेको छ । वर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचन गराउँन लाग्दा संघका प्रमुख संरक्षक घलेले संस्था जोगाउन भन्दै छुट्टै निर्वाचन समिति गठन गरेपछि औपचारिक रुपमा फुटको संघारमा पुगेको हो । वर्तमान कार्यसमितिले गठन गरेको निर्वाचन समितिले काम गरिरहेको बेला घलेले आफ्ना निकट व्यक्तिलाई राखेर निर्वाचन समिति गठन गरेका छन । उनले उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा आयोजक समिति समेत गठन गरेका छन ।
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६.१.४ अनुसार निर्वाचन समिति पुनर्गठन र १० औं महाधिवेशन आयोजक समिति पनि गठन गरेको दावी गरेका छन्। महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु छनौटमा विवाद देखिएपछि संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउदै अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले छुट्टै गतिविधि गरिरहेका थिए ।

घलेले गठन गरेको निर्वाचन समितिको प्रमुख) निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर रिटायर्ड डमर घले (युके, पुष्प थापा (जर्मनी), बिमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन्। संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराको समितिले बिभिन्न पदमा उम्मेदवारी दर्ता लिइसकेको बेला घलेले अर्काे समिति बनाएका छन । महाधिवेशन आयोजक समितिको संयोजकमा लामा र सह(संयोजकमा उपाध्यक्ष मन केसी छन्। आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु रहेको बताइन्छ ।

दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११) सम्म काठमाडौँमा आयोजना हुने बताइएको छ। गत अक्टोबर २०२१ मा हुनुपर्ने दशौँ महाधिवेशन र निर्वाचन प्रतिनिधि विवादका कारण हुन नसकेपछि आइसीसीले प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) बैठकले गठन गरेको समिति आइसीसीकै अर्काे बैठकले खारेज गरिसकेको छ ।
घलेले व्यक्तिगत हैसियतमा झन्डै २,६०० मतदाताहरु रहेको सूची बैठकमा राखेका थिए । तर, बैठकबाट पारित हुन सकेको थिएन । उक्त मतदाताहरुकै सुची अनुसार निर्वाचन प्रक्रिया अघि बढाउने जनाइएको छ।
प्रमुख संरक्षक घलेले संघका सबै डेलिगेट्स भौतिक रुपमा काठमाडौँ आउन आग्रह गरेका छन्।

© 2022 All Right Reserved DiasporaNepal