एनआरएनए भित्रको विवाद समाधान प्रयास र उम्मेदवारी दर्ता जारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) १० औं महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । एनआरनएनए वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी र रवीना थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले अहिले पनि उम्मेदवारी दर्ता भइरहेको र उम्मेदवारी आउने क्रम जारी रहेको जनाएको छ । अहिलेसम्म २० जना बढीको उम्मेदवारी दर्ता भइसकेको र अन्यको ईमेल चेक गर्ने कार्य भइरहेको समितिले जनायो ।
डा. केसी रसियामै रहेकाले अनलाइन मार्फत र थापा संघको कार्यालय बालुवाटारमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।अध्यक्ष पदमा उम्मेदवारी दिने बताउदै आएका एनआरएनए सल्लाहकार कुल आचार्यले हालसम्म उम्मेदवारी दर्ता गराएका छैनन् । उनले यो निर्वाचन प्रक्रिया एकपक्षीय ढंगले अघि बढेको जनाउदै ठोस निर्णय गर्ने बेला आएको धारणा सामाजिक संजाल मार्फत मंगलबार सार्वजनिक गरेका थिए । प्रतिनिधि विवाद समाधान नभई गरिने निर्वाचनमा सहभागि नहुने उनको अडान छ । संघ भित्रको विवाद समाधानका लागि पुर्व अध्यक्षहरु तथा राजनीति दलका नेताहरु भित्रीरुपमा सकृय रहेको बताइन्छ ।निर्वाचनमा ३ हजार ५९० जना प्रतिनिधि छन् ।
हालसम्म अध्यक्ष पदमा डा केसी र थापा, उपाध्यक्ष पदमा धर्मराज अधिकारी, महिला उपाध्यक्षमा यास्मिन बेगम, युवा उपाध्यक्षमा रोशन थापाले उम्मेदवारी दर्ता गराईसकेका छन् । त्यस्तै, महासचिव पदमा विनय अधिकारी, र गौरीराज जोशी, सचिव पदमा रामशरण सिंखडार सचिवअजिव (ओम) गुरुङ, महिला सचिवमा राधिका (टिका) गुरुङ, महिला संयोजक पदमा संगीता मरहठ्ठा, महिला सहकोषाध्यक्षमा यमुना भट्टराई चुनावी मैदानमा उत्रिएका छन ।
त्यस्तै, मध्यपुर्व संयोजकमा राजेन्द्र अर्याल, युरोप संयोजकमा सन्तोष भट्टराई, युरोप उपसंयोजकमा ललित न्यौपाने, युरोप उपसंयोजकमा नबराज रोस्यारा, ओसियाना संयोजकमा लालबहादुर केसी, दिपक शर्मा र दिनेशराज जोशीले उम्मेदवारी दिए । त्यसैगरी, एसिया संयोजक पारसमणि पोखरेल र एसिया उपसंयोजकमा ददिवाल खड्काले उम्मेदवारी दर्ता गरिसकेको निर्वाचन समितिले जनाएको छ ।
यही २४ र २५ मार्चमा ६० पदका लागि हुन गइरहेको निर्वाचनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता शुरु भएको हो । उम्मेदवारी दर्ता आगामी ११ मार्च अर्थात शुक्रबार साँझ ५ बजेम्म जारी रहनेछ ।

एनआरएनएको उम्मेदवारी दर्ता गर्न अध्यक्षका लागि १० लाख रुपैयाँ, उपाध्यक्षका लागि ७ लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि ५ लाख, सह–कोषाध्यक्षका लागि ४ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, महिला तथा युवा संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, क्षेत्रीय उप–संयोजकका लागि दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र क्षेत्रीय युवा र महिला उपसंयोजकको लागि दुई लाख रुपैयाँ उम्मेदवार मनोनयन दर्ता शुल्क तोकिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal