भुपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं । भुतपूर्व ब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै हुने भएको छ ।
सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे बेलायतसँग वार्ता गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको हो । नव नियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वार्ताको पहल शुरु भएको जानकारी गराएका हुन् ।
‘हामी बेलायत सरकारसँग सम्पर्कमा छौं । वार्ता समितिलाई नेपालको मन्त्रिपरिषद्बाट पारित गरेपछि त्रिपक्षीय वार्ता प्रक्रिया अगाडि बढ्छु,’ राजदूत आचार्यले मंगलबार भने, ‘मिति ठ्याक्कै भन्न त अहिले अप्ठेरो छ । तर, अब गोर्खा समस्याको दीर्घकालीन समाधान आवश्यक भएकाले म त्यसतर्फ बढी क्रियाशील छु । वार्ताबाटै सबै समस्या निराकरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ ।’
राजदूत आचार्य गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो सम्मानमा लन्डनमा गरेको एक कार्यक्रममा बोल्दै थिए । उनले त्रिपक्षीय वार्ता सफल बनाउन सबैको योगदान आवश्यक हुने पनि औंल्याए । गत बुधबार लन्डनस्थित नेपाली दूतावासमा पदबहाली गरेका आचार्यलाई नेपाल सरकारले वार्ताको नेतृत्व गर्न जिम्मेवारी सुम्पेको छ ।
कार्यक्रममा आफ्ना केही प्राथमिकता उल्लेख गर्दै राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, कूटनीतिक राजनीतिक, आर्थिक, सांस्कृतिक, व्यापारिक, शैक्षिक सम्बन्ध अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता सुनाए ।
व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कुटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्ने योजना पनि राजदूत आचार्यको छ ।
