विप्लवको सक्रियता बढ्योः माओवादी नेता प्रकाशसँग छलफल, झलनाथ खनाल र भीम रावल पनि भेट्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको सक्रियता बढेको छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पास गरिएसँगै उनी सक्रिय भएका हुन्। विप्लव नेतृत्वको नेकपा एमसीसीविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको ४ दल र दुई मोर्चामध्ये एक दल हो।
यसै सन्दर्भमा महासचिव विप्लवले बुधबार बिहान माओवादी केन्द्रका वरिष्ठ नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशसँग भेट गरेका छन्।
ललितपुरको हरिसिद्धिस्थित प्रकाश निवास पुगेका विप्लवले एमसीसी विरोधी शक्तिहरुबीच सहकार्य र एकताबारे छलफल गरेको नेकपाका केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यालयका सचिव असल खड्काले जानकारी दिए।
उनका अनुसार एससीसीविरोधी क्रान्तिकारी शक्ति एवं कम्युनिष्ट पार्टीहरुबीच ध्रुवीकरण गरेर अघि जाने विषयमा विप्लवले प्रकाशसँग कुराकानी गरेका हुन्।
‘एमसीसीविरोधी कम्युनिष्ट एवं क्रान्तिकारी शक्तिहरुबीच स्पष्ट ध्रुवीकरण गरेर सहकार्य एवं कार्यगत एकताबारे दुई नेताबीच कुराकानी भएको हो’, कार्यालय सचिव खड्काले भने, ‘समग्र पार्टी एकता नै गर्नेबारे कुराकानी भएको होइन।’
एमसीसीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्णयविपरीत कार्य गरेको भन्दै नेता प्रकाशले असन्तुष्टि जनाउँदै आएका छन्। नेता प्रकाशले पार्टीभित्र के गर्ने भन्नेबारे आफूपक्षीय नेता तथा सांसदहरुसँग समेत परामर्श गरिसकेका छन्।
प्रकाशको एकतर्फी सक्रियतापछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनी पार्टी छाडेर जाने सम्भावना रहेको अभिव्यक्ति दिएका थिए। आफ्नो भनाइबाट थप चिढिएपछि प्रचण्डले प्रकाशलाई भेटेका थिए। भेटमा दुई नेताबीच चर्काचर्की भए पनि तत्काल पार्टी नछाड्न प्रचण्डले प्रकाशलाई आग्रह गरेको खबर बाहिरिएको छ।
नेकपा पार्टी केन्द्रीय सचिवालयका सचिव खड्काले पार्टी नीतिअनुसार महासचिव विप्लवले एमसीसीविरोधी अन्य दल र व्यक्तिसँग पनि कुराकानी गर्नेछन्। जसअनुसार सम्भव भएसम्म आजै एकीकृत समाजवादीका वरिष्ठ नेता एवं सांसद झलनाथ खनाल र एमाले नेता एवं सांसद भीम रावलसँग पनि महासचिव विप्लवले भेटवार्ता गर्नेछन्।
सांसदहरु खनाल र रावल दुवैले संसद बैठकमै एमसीसीविरुद्ध उभिने अभिव्यक्ति दिएका थिए। संसदमा जनमोर्चा र नेमकिपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौताको विरोध गरेका थिए।
