माधव नेपालको पत्रकार सम्मेलनः केपी ओलीप्रति बढी नै आक्रामक

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Rajdhani Daily

अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार पत्रकार सम्मेलन गरे । व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि माधव नेपाललगायतको भूमिकामा चौतर्फी प्रश्न उठ्यो ।

अघिल्लो दिनसम्म एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने, बरु गठबन्धन छाड्ने बताएका नेपाल पछि किन एमसीसी अनुमोदन गर्न सहमत भए भन्ने विषयमा प्रश्न उठेपछि त्यसलाई प्रस्ट पार्न उनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरे ।

पत्रकार सम्मेलनमा नेपाल एमसीसी अनुमोदनको विषयभन्दा पनि बढी एमाले अध्यक्ष केपी ओलीविरुद्ध बढी नै आक्रामक देखिए । उनले ओलीलाई दम्भी, अहंकारी मात्र भनेनन्, मानसिक सन्तुलन ठीक नभएको आरोपसमेत लगाए । नेपालले ओलीले गठबन्धन टुटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएपछि आफूहरू व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने अवस्थासम्म आइपुगेको टिप्पणी गरे ।

‘मुलुकभित्रका दलहरुबीच विवाद बिजारोपण गर्ने र जनतालाई समेत उत्तेजित पार्दै विभाजित गर्ने काम केपी नेतृत्वको सरकारबाट भयो । अतः राज्य सञ्चालनको जिम्मा पाएका केपी ओली जस्ता व्यक्तिहरुमा भएको व्यक्तिवादी, दम्भी, अहंकारी, आत्मसमर्पणवादी एवं षडयन्त्रकारी प्रवृत्तिले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई अहिलेको गठबन्धनले उपयुक्त निकास दिनुपर्ने बाध्यात्मक अवस्था बन्यो,’ नेता नेपालले जारी गरेको विज्ञप्तिको तेस्रो बुँदामा उल्लेख छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमसीसीलाई आईपीएसमा सहभागी गराउने कार्यमा केपी ओलीको मुख्य भूमिका रहेको नेपालले आरोप पनि लगाए । उनले अमेरिकी विदेश विभागले सन् २०१९ मा जारी गरेको अ फ्री एन्ड ओपन इन्डो-प्यासिफिक प्रतिवेदनमा एमसीसीलाई आफ्नो हिस्साका रूपमा उल्लेख गर्दै नेपाललाई त्यसको सदस्य राष्ट्रको सूचीमा राखेको उल्लेख गरेका छन् । ‘तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणमा तात्कालीन प्रधानमन्त्रीको अनुमतिमा एमसीसीमार्फत आईपीएसमा आबद्ध भएको भनेर विभिन्न सञ्चार माध्यमहरुमा आए पनि त्यसबारेमा नेपालका औपचारिक संस्थाहरुबाट कहींकतै विरोध वा निर्णय भएको देखिँदैन । विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्याउने काम भयो,’ नेपालले उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन पनि चेतावनी दिए । ‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ उनले भने, ‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने । सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us