सोनाम लामाद्धारा एनसीसीमा एक जना पनि डेलिगेट्स थप्न वा हटाउन नभनेको स्पष्टोक्ति

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले आफुले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स थप्न वा हटाउन नभनेको बताउनु भएको छ । उपाध्यक्ष लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफुले एक जना पनि डेलिगेट्स थप्न वा हटाउन नभनेको बताउनु भएको हो ।

एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप छानबिन गरी उच्चस्तरीय समितिलाई बुझाएको प्रतिवेदनबारे केहि मिडियामा प्रकाशित भ्रमपूर्ण समाचारबारे गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनु भयो ।

संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको बताउँदै लामाले भन्नु भयो, ‘संघको सचिवालय र आइटी विभागले ‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने छानबिन गरी तयार गरेको रिपोर्ट मैले जस्ताको तस्तै उच्चस्तरीय समितिलाई पठाएको हु। यसमा मेरो कुनै स्वार्थ छैन। मैले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स पनि थप्न वा हटाउन भनेको छैन। जुन रिपोर्ट आएको छ संघको विधान र नियमावलीमा आधारित रहेर आएको छ।’

आफु माथि संस्था फुटाउन खोजेको भन्ने आरोप सरासर गलत रहेको उहाँले बताउनु भयो । ‘मैले एनआरएनएमा आवद्ध भए देखि नै सधैंभरि निस्पक्ष र इमान्दारीका साथ संस्थाको हितमा काम गर्दै आएकोबारे संसार भरिका साथीहरु जानकार हुनुहुन्छ’, उहाँले भन्नु भयो, ‘चाहे संस्थाका पूर्व अध्यक्ष हुन् वा साधारण सदस्य, सबैले संस्थाको विधान र नियमावली इमान्दारीपूर्वक पालना गर्नु पर्छ भन्ने मेरो दृढ मान्यता रहंदै आएको छ।’

त्यस्तै डेलिगेट्स सम्बन्धी विवादको विधिसम्मत ढंगले समाधान गरी जति सक्दो छिटो चुनावमा जानु पर्छ भन्नेमा स्पष्ट मान्यता रहेको पनि उहाँले बताउनु भयो ।

त्यस्तैगरि उपाध्यक्ष लामाले आगामी दशौँ महाधिवेशनमा आफुले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरि सकेको बताउनु भएको छ । आफुले संस्थालाई जहिले पनि विधिसम्मत र पारदर्शी हिसाबले संचालन गर्नु पर्नेमा जोड दिदै आएको पनि बताउनु भयो ।

उहाँले संस्थामा अनियमतिता भएको छ वा विधानको पालना भएको छैन भन्ने लागेको बेला आफुले ‘नोट अफ डिसेन्ट’ लेख्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भन्नु भएको छ, ‘यस्तो वस्तु तथ्यलाई पनि थाहा न पाएझैं गरी निहित राजनीतिक उद्देश्य पुरा गर्नका लागि मेरो नाम जोडेर अनर्गल प्रचार गर्ने काम प्रति मेरो गम्भीर आपत्ति छ। सत्य तथ्य न बुझेर झूठको खेती गर्ने काम तुरुन्त बन्द गर्न पनि म अपिल गर्दछु।’

उपाध्यक्ष लामाले जारि गरेको वक्तव्य जस्ताको तस्तै:

प्रेस वक्तव्य

एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप छानबिन गरी मैले समितिलाई बुझाएको प्रतिवेदनबारे केहि मिडियामा प्रकाशित भ्रमपूर्ण समाचारबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाइ सकेको छु। संघको सचिवालय र आइटी विभागले ‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने छानबिन गरी तयार गरेको रिपोर्ट मैले जस्ताको तस्तै उच्चस्तरीय समितिलाई पठाएको हु।  यसमा मेरो कुनै स्वार्थ छैन।  मैले कुनै पनि एनसीसीमा एक जना डेलिगेट्स पनि थप्न वा हटाउन भनेको छैन। जुन रिपोर्ट आएको छ संघको विधान र नियमावलीमा आधारित रहेर आएको छ। 

म माथि संस्था फुटाउन खोजेको भन्ने आरोप सरासर गलत छ।  मैले एनआरएनएमा आवद्ध भए देखि नै सधैंभरि  निस्पक्ष र इमान्दारीका साथ संस्थाको हितमा काम गर्दै आएकोबारे  संसार भरिका साथीहरु जानकार हुनुहुन्छ।  चाहे संस्थाका पूर्व अध्यक्ष हुन् वा साधारण सदस्य, सबैले संस्थाको विधान र नियमावली इमान्दारीपूर्वक पालना गर्नु पर्छ भन्ने मेरो दृढ मान्यता रहंदै आएको छ।   त्यस्तै डेलिगेट्स सम्बन्धी विवादको विधिसम्मत ढंगले समाधान गरी जति सक्दो छिटो चुनावमा जानु पर्छ भन्ने मेरो स्पष्ट मान्यता छ।  

मैले आगामी दशौँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरि सकेको छु।  मैले संस्थालाई जहिले पनि विधिसम्मत र पारदर्शी हिसाबले संचालन गर्नु पर्नेमा जोड दिदै आएको छु।  अनियमतिता भएको छ वा विधानको पालना भएको छैन भन्ने लागेको बेला मैले ‘नोट अफ डिसेन्ट’ लेख्ने गरेको साथीहरुलाई थाहा नै छ।  यस्तो वस्तु तथ्यलाई पनि थाहा न पाएझैं गरी निहित राजनीतिक उद्देश्य पुरा गर्नका लागि मेरो नाम जोडेर अनर्गल प्रचार गर्ने काम प्रति मेरो गम्भीर आपत्ति छ।  सत्य तथ्य न बुझेर झूठको खेति तथा प्रोपेगेंडा गर्ने काम तुरुन्त बन्द गर्न पनि म अपिल गर्दछु। 

सोनाम लामा

उपाध्यक्ष, एनआरएनए आइसीसी

मिति: २० फेब्रुअरी २०२२

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us