दलहरुबीच सहमति भए एमसीसी अघि बढ्नबाट सभामुख सापकोटाले नरोक्ने

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Lokpath

काठमाडौं । सभामुख अग्नि सापकोटाले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने बताएका छन् । उनले एमसीसीका सम्बन्धमा आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको भन्दै यस्तो बताएका हुन् ।

सोमबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो । उनले दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अव संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले संसदमा विचाराधिन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरु पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरुको ध्यानाकर्षण गराइएको पनि बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा ९एकीकृत समाजवादी०का सांसद जीवनराम श्रेष्ठले बताए । उनले एमालेले जुन विषय उठाएर जनताको सार्वभौमथलो संसदलाई अवरुद्ध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दाबी समेत गरे।

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधिन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउन समेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरु अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us