एनआरएनए विवाद : उच्चस्तरीय समिति असफल, अध्यक्ष पन्तद्वारा नामावली निर्वाचन समिति समक्ष प्रस्तुत

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० औं महाधिवेशनका प्रतिनिधिहरुको नामावली (डेलिगेट्स लिस्ट) निर्वाचन समितिलाई पठाएका छन्। पन्त आफु समेत सदस्य रहेको उच्चस्तरीय समितिले विवाद समाधान गर्न असफल भएपछि अध्यक्षको हैसियतमा विधान अनुसार प्रतिनिधिहरुको नामावली निर्वाचन समिति समक्ष पठाएका हुन् ।
सोमबार निर्वाचन समितिको बैठक अघि नै पन्तले ति नामावलीहरु पठाएको बताइन्छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को ८१ औं बैठकले संघको दशौँ महाधिवेशन सम्पन्न गर्न गत १५ जनवरीमा प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो। समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, संरक्षक रामप्रताप थापा र अध्यक्ष कुमार पन्त रहेका छन् ।
त्यस यता समितिले विज्ञहरुको प्राविधिक समिति गठन गर्नुका साथै विवादित राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई पत्राचार गरी सहमतिको आधारमा सूची पठाउन भनिसकेको छ। त्यस्तै एमआइएस प्रणालीको दुरुपयोगको विवाद दुई दिन भित्र समाधान गर्न पुर्व अध्यक्षहरु देवमान हिराचन र भवन भट्टलाई जिम्मा दिएपनि समस्या समाधान गर्न नसकेपछि पुन निर्वाचन गराउन संयोजक घलेले पत्राचार गरेका थिए ।
गत वर्ष रसिया, न्युजिल्याण्ड लगायतका मुलुकमा वार्षिक साधारण सभा (एजीएम) भैसकेपछि पनि नयाँ सदस्यहरु बनाइ थप डेलिगेट्सहरुको नाम पठाएको बारे उपाध्यक्ष सोनाम लामा समेत रहेको समितिले छानबिन गरि रहेको छ। समय सीमा भित्र विवाद समाधान गर्ने भन्दा पनि अल्झाउने रणनीतिमा लागेको ठहर गर्दै अध्यक्ष पन्तले सूची निर्वाचन समितिलाई पठाए ।
यसैबीच, आगामी २८ फेब्रुअरी तोकिएको निर्वाचनलाई मध्ये नजर गरि निर्वाचन समितिको आज बस्ने बैठकले प्रक्रिया अघि बढाउने बताइन्छ ।
उता, अध्यक्षका प्रत्यासी कुल आचार्यले निर्वाचन समितिको निर्णय पछि औपचारिक प्रतिक्रिया दिने बताइन्छ ।
डेलिगेट्स सम्बन्धी विवादका कारण गत वर्ष अक्टोबर महिनामा हुनु पर्ने संघको दशौँ महाधिवेशन तथा चुनाव अहिले सम्म हुन सकेको छैन।

© 2022 All Right Reserved DiasporaNepal