राप्रपा नेपालका अध्यक्षमा कमल थापा: पार्टी बुझाउने शेर्पा भन्छन्- ‘जसको नासो उसैलाई फिर्ता गरिदिएँ’

काठमाडौं- राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले बताए ।
कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाउने लाक्पा तामाङले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको बताएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाडेर उनलाई नै पार्टी जिम्मा लगाएको लाक्पाको भनाइ छ । ‘राप्रपा नेपाल स्थापित गर्ने कमल थापा नै हो’, उनले भने, ‘म त त्यखितेर साधारण एउटा धनकुटा जिल्लाको उपाध्यक्ष मात्रै थिएँ । २०७४ सालमा राप्रपासँग एकता भए पछाडि म त्यता नगइकन राप्रपा पुनर्जीवित गरेर बसेको थिएँ । यो उहाँको नासो उहाँलाई नै थिएँ ।’
उनले आफू कमल थापाकै कार्यकर्ता भएकाले उनलाई पार्टी नेतृत्व दिनु कुनै ठूलो कुरा नभएको बताए । राप्रपा नेपाल आफूले दर्ता गर्दा कमल थापाको नैतिक समर्थन रहेको उनको भनाइ छ । ‘म त उहाँको कार्यकर्ता भइहाले नि’, उनले भने । तर कमल थापाकै निर्देशनमा भने आफूले पार्टी दर्ता नगरेको उनको जिकिर छ । ‘उहाँले पार्टी दर्ता गर्न लगाउनु भएको त होइन । तर उहाँले सहयोग गरिरहनु भएको थियो । सहयोग आर्शिवाद त पाएकै हो । उहाँको नैतिक समर्थन मलाई थियो’, लाक्पाले भने ।
पछिल्लो समय राप्रपामा पार्टीमा समस्या आएपछि थापाले आफूलाई पार्टी निर्माणको अवसर दिन आग्रह गरेको तामाङको भनाइ छ । विभिन्न चरणमा थापासँग र छलफल भएपछि थापालाई नेतृत्व दिनेबारेमा शनिबार सहमति भएको उनको भनाइ छ । ‘विस्तृत रूपमा छलफल भएर शनिबार सहमति भयो’, उनले भने, ‘हिजो निर्णय भएर आज निर्वाचन आयोगमा निवेदन दिएको छौँ ।
मंगलबार राप्रपा परित्याग गरेका थापा अन्ततः पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका हुन् । थापा अध्यक्ष चयन भएपछि निर्वाचन आयोगमा ६१ जनाको केन्द्रीय कमिटीसहितको जानकारी पत्र आइतबार दर्ता गराइएको तामाङले जानकारी दिए ।
नेतृत्व कमल थापालाई छाडेका तामाङ हाल केन्द्रीय सदस्यमा सीमित भएका छन् भने पछि अध्यक्षले उचित जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको बताए । ‘मेरो भूमिका अब अध्यक्षज्यूले जे निर्धारण गर्नुहुन्छ त्यही हुनेछ, सबै अध्यक्षज्यूको हातमा गएको छ’, तामाङले भने ।
पार्टीको चुनाव चिन्हको विषयमा पछि टुङ्गो लाग्ने बताइएको छ । छिट्टै नवगठित पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र सो बैठकबाट चुनाव चिन्हको टुङ्गो लगाइने बताइएको छ । तामाङको नेतृत्वमा राप्रपा नेपाल हुँदा साँढे चुनाव चिन्ह रहेको थियो । उनले नयाँ नेतृत्वसहितको पार्टी घोषणा फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रिय सभागृहबाट घोषणा गर्ने तय भएको छ ।
आयोगमा बुझाइएको सूचीमा केन्द्रीय समितिमा थापा पक्षबाट राजीव पराजुली, उद्धव पौडेल, तेज कुरुङ्बाङ, सुनिता कुरुङबाङ तथा आफ्नो तर्फबाट आफूसहित आइतराम तामाङ, तेजबहादुर भुजेल, राजेश्वर श्रेष्ठलगायत रहेका छन् । हाल राप्रपामा रहेका केन्द्रीय सदस्य तथा पदाधिकारी नयाँ पार्टीको केन्द्रीय कमिटी सूचीमा छैनन् । यसैबीच निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राप्रपा नेपालको निवेदन प्राप्त भएको र यसबारे आयोगले निर्णय लिन बाँकी रहेको बताए ।
‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने ।
केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।
