‘एमसिसी सदनमा लैजानुपर्छ, पक्ष र विपक्ष पनि त्यहीँ देखियोस्’

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नेमा कांग्रेसभित्र एकमत रहेको उल्लेख गर्दै यस विषयलाई तत्काल सदनमा प्रस्तुत गर्न जोड दिइएको छ।
बैठकबाट बाहिर निस्केका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसिसीबारे पक्ष र विपक्षको अन्यौल सदनमै गएर निर्क्यौल हुनुपर्नेमा बैठकमा धारणा बनेको जानकारी दिए।
उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी पेश गर्न दिन्नँ भन्न नपाउने पनि उल्लेख गरे। ‘सभामुखले एमसिसी पेश गर्न दिन्नँ भन्न पाउनुहुन्न, सरकारले ल्याएका प्रस्ताव पेश गर्नु उहाँको दायित्व हो,’ नेता महतले भने।
उनले स्थानीय निर्वाचनको गठबन्धनबारे बैठकमा कुनै छलफल नभएको दाबी पनि गरे।
यद्यपि यसअघि बैठकबाट बाहिरिँदै पूर्वमहामन्त्री सशांक कोइरालाले आफूसहित धेरै नेताहरुले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा धारणा राखेको जानकारी दिएका थिए।
बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता कोइरालाले बताए।
‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो। उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ। त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए। समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन्।
