एनआरएनए पुर्व अध्यक्ष भवन भट्टले ३० करोडमा बचे नेपाल ब्रुअरी, डीएमआर रिसोर्ट बेच्न ग्राहक खोज्दै

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले नेपाल ब्रुअरी बिक्रीको लागि प्रारम्भिक सहमति गरेका छन्। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको ब्रुअरी बिक्री गर्ने प्रारम्भिक सहमति केही दिनअघि भएको हो।

करिब ५० वर्ष पहिले नेपाल ब्रुअरीको नाममा खुलेको उद्योग बीचमा भारतीय व्यवसायी विजय माल्याले खरिद गरी युनाइटेड ब्रुअरी नेपाल नामाकरण गरेका थिए। सोही ब्रुअरीबाट माल्याले किङफिसर ब्रान्डको बियर उत्पादन गरी भारत निर्यातसमेत गर्दै आएका थिए।

ब्रुअरी पछि तेजेन्द्र खड्का र भारतीय व्यापारी प्रिन्स बत्राले मिलेर सञ्चालन गरेका थिए। भट्टले उनीहरूबाटै ब्रुअरी खरिद गरेका थिए। भट्टले किनेपछि उक्त ब्रुअरीको नाम फेरि नेपाल ब्रुअरी नै बनाइएको थियो। ब्रुअरी भवन भट्टको एकल स्वामित्वमा रहेको छ। ब्रुअरी बिक्रीका लागि भवन भट्टका तर्फबाट उनका काका भव भट्टले समन्वय गरिरहेका छन्।

ब्रुअरी खरिदरबिक्रीका लागि ३० करोड रुपैयाँमा डिल भएको कम्पनी स्रोतले जानकारी दियो। भारत, जयपुरका व्यापारी अभय सिंहले उक्त ब्रुअरी किनेका हुन्। नेपालमा उनले ब्रुअरीसहित विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

दुई पक्षबीच खरिदरबिक्रीको सबै कुरा मिलिसकेको र स्वामित्व हस्तान्तरणका लागि कागजी प्रक्रिया सुरू भइसकेको छ। सिंहले तेजेन्द्र खड्काको पालामा पनि उक्त ब्रुअरीमा लगानी गरेको र पछि लफडा परेपछि बाहिरिएका थिए। नवलपरासीको बर्दघाटमा रहेको डिस्टिलरीमा समेत सिंहले लगानी गरेका छन्।

उक्त ब्रुअरीका नाममा कामना सेवा विकास बैंकबाट १० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाको समेत गरी करिब १७ करोड रूपैयाँ ऋण रहेको छ। पछिल्लो समय भट्टले ब्रुअरी राम्रोसँग सञ्चालन गर्न सकेका थिएनन्। भट्ट आफू सन्यासी बनेको भन्दै हिँडिरहेका छन्। जापानमा रहने उनी कोरोमा महामारीयता जापान गएका छैनन्।

भट्टले नेपालमा जुन क्षेत्रमा लगानी गरेका छन्, ती कुनै पनि अहिले राम्ररी चल्न सकेका छैनन्। मोमेन्टो गार्मेन्ट किनेका उनले त्यो पनि चलाउन सकेनन्, जुन विवादको भूमरिमा फस्यो। त्यसैगरि बीबी एयरवेजमा अर्बौं लगानी गरे तर वर्षदिन पनि चल्न सकेन।

धुलिखेलको डीएमआर रिसोर्ट किनेका भट्ट अहिले त्यो पनि बिक्री गर्न चाहन्छन्। तर हालसम्म भट्टले डीएमआर किन्ने उपयुक्त व्यक्ति भेट्न नसकेकाले बेच्न सकेका छैनन्।

भवन भट्टको टीबीआई ग्रुपले कारोबार दैनिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us