बालुवाटारबाट फर्केपछि माधव नेपालले भने- गठबन्धन टुट्नेवाला छैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले टुटाउन खोज्दैमा सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । गठबन्धनलाई अझ बलियो बनाउनेबारे आज मात्र छलफल भएको उनले दाबी गरे ।
पार्टी निकट अखिलले बुधवार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेता नेपालले पत्रपत्रिकामा आएका कुरालाई मनगढन्तेको संज्ञा दिएका हुन् ।
‘दिनदिनै पत्रिकामा आएका कुरालाई लिएर चिन्ता गर्नुपर्ने छैन । गठबन्धन टुट्नेवाला छैन, कसैले टुटाउन खोजे पनि टुट्नेवाला छैन,’ नेता नेपालले भने, ‘नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाजी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी म आफैं तीनैजना बसेर छलफल गर्याैं । पत्रपत्रिकामा आएका समाचारको बारेमा छलफलमा चलायौं, मनगढन्ते कुरा आएका छन् । गठबन्धनलाई बलियो बनाएर लैजाने कुरा गरेका छौं ।’
नेता नेपालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)प्रति संकेत गर्दै जनताको भावना र जनताको हितविपरीत केही नगर्ने बताए । ‘जनताको भावनालाई सम्मान र नेपालको हितलाई केन्द्रमा राख्दै सबैसँग राम्रो सम्बन्ध कायम गर्ने गरी अगाडि बढ्छौं,’ नेपालले भने ।
अहिलेको गठबन्धनबाट एकपछि अर्को महत्त्वपूर्ण सफलताका कायम गरेको नेता नेपालले दाबी गरे ।
