१४ टन मानवीय सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान प्रस्थान

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

Photo: Kantipur

काठमाडौं । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान काबुल प्रस्थान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा.नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताए।

खाद्यान्नबाहेकका ती सामग्री करिब १४ टन रहेको मन्त्री खड्काले जानकारी दिए । उनले नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताए । यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री पठाउनसक्ने सन्देश दिएको बताए ।

उनले भने, ‘हामी ठूला प्राकृतिक तथा दैविक विपद्ध विभिन्न राष्ट्र तथा निकायबाट सहयोग लिन्छौँ तर पनि यस कार्यले नेपाल सदैव सहयोग लिने मात्र होइन, आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि पछि पर्दैन भन्ने सन्देश जानेछ । यसले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उच्च तुल्याउन सहयोग पुग्नेछ ।’

सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री व्यवसायीले निःशुल्करुपमा उपलब्ध गराएको मन्त्री खड्काले जानकारी दिए । उनले सहायता सामग्री अफगानिस्तानसम्म पुर्याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि जानकारी दिए । दक्षिण एशियाली राष्ट्रको साझा समस्या भएको र सोही दायित्वअनुरुप आवश्यक मानवीय सहायता जहाजमार्फत पुर्याउन लागिएको मन्त्री खड्काले बताए ।

सहायता सामग्री संयुक्त राष्ट्रसंघ, महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आजै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us