एनआरएनए विवादको समाधान संस्थाभित्रै बाट खोज्नुपर्छ : अध्यक्षका प्रत्यासी डा. केसी
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा.बद्री केसीले संस्था भित्रको विवाद आपसी समझदारीमा टुंग्याउनु पर्नेमा जोड दिएका छन । टिम बद्रीले शुक्रबार आयोजना गरेको अंग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना तथा साँस्कृतिक कार्यक्रममा नयाँ बर्षको शुभकामना दिदै केसीले एनआरएनए भित्रको असमझदारी आपसी छलफलबाटै समाधानमा पुग्न आग्रह गरेका हुन् ।
”विगतका बर्षहरुमा एकआपसमा असमझदारी जे जस्तो देखिए अन्त्य भएका थिए । हामी बीचमा समस्या मात्र खोज्ने नभई हामीबीचबाटै समाधान निकाल्नुपर्नेछ”, अध्यक्षका प्रत्यासी डा. केसीले भने ।
सामाजिक संस्थाको नेतृत्व गर्न बिभिन्न टोली वा प्यानलका रुपमा निर्वाचनको मैदानमा रहेका सबैलाई समेटेर नेतृत्व गर्न आफु सक्षम रहेको केसीले दावी गरे । उनले निर्वाचन अघि विभिन्न टिम बन्नू स्वभाविक भए पनि निर्वाचनपछि भने सबै टिमलाई बिर्सेर साझा नेतृत्व गर्ने विश्वास दिलाए । ”निर्वाचनमा विजयी भएपछि पक्षविपक्षमा आफ्नो र अर्काको टिम नभनीकन साझा रुपमा नेतृत्व गर्न तयारछु”, उनले नयाँ बर्षको शुभकामना सँगै प्रतिबद्धता जनाए । डा. केसीले २०१९-२१ कार्यकालमा उपाध्यक्षका रुपमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
उनले गैरआवासीय नेपालीहरुले ससाना लगानी गर्न सकून भन्ने उद्देश्यले १० अर्ब लगानी कोष खडा गरिएको, एनआरएन फाउन्डेसन पनि दर्ता भएको जनाए ।
विश्वभरि रहेका ६२ वटा देशमा एनसिसीको निर्वाचन भएर नयाँ नेतृत्व चयन भएको र ३६ सय प्रतिनिधि छनौट भएर आएकाले जनवरीमा निर्वाचन गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।
उक्त शुभकामना तथा सांस्कृतिक कार्यक्रममा बद्री पंगेनीलगायतका राष्ट्रिय कलाकारले भर्चुअल जुम मार्फतका मनोरन्जन दिएका थिए ।