एनआरएनए युकेमाथि जनस्तरबाट पलाएको विश्वासमा कसैको गिद्धे नजर नलागोस् !

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

उपाध्यक्ष : सुनिलबाबु खड्का

गैरआवासीय नेपाली संघ बेलायतका विषयलाई लिएर नेपाली समुदायहरु विच कोरिएको विभाजनलाई रोक्नु पर्छ भन्ने मेरो पहिलो प्रयास रहदै आएको छ । एनआरएनए युकेको निर्वाचन ३१ जुलाईमा तय भैसकेपछि पदका आकांक्षीहरु मध्ये एकले अर्काको नाम हेर्न र लिन चाहदैन । आफ्नो भन्दा प्रतिस्पर्धीको बढी चर्चा भएको सुन्न पनि चाहदैन । यो संस्कृति हाम्रो नेपाली समाजको होइन । नेपाली भन्ने वित्तिकै एक अर्कालाई स्वागत तथा सत्कार गर्ने हाम्रो विगतको संस्कृति, परम्पराबाट पद र प्रतिष्ठाका लागि झगडा गर्ने तथा पक्ष-विपक्षमा लाग्ने प्रचलनमा परिणत हुन लागेको देखेर म दिक्क छु !
म आफै एनआरएनए युके उपाध्यक्षका रुपमा झण्डै दुई बर्ष काम गर्दा समाज बिभाजनको असरलाई नजिकबाट हेरेको छु । सहमति र सहकार्य भन्ने बिषय भाषणमा मात्र देखिएको छ । व्यवहारमा एकले अर्काको अस्थित्व स्वीकार्न र मिलेर काम गर्न नजान्ने वर्गमा पर्न थालेका छौ । हामीमा यति धेरै स्वार्थ छ । त्यो अरुलाई छाडनुहोस भन्न सजिलै सकिन्छ । तर, आफुले छाडन नसकिदो रहेछ । एनआरएनए युके कार्यसमितिमा काम गरेका कतिपय साथीहरु एउटै टेवुलमा बसेर एक कप चिया पिउने सक्ने अवस्थामा छैनन् । मानौ, हामी पुर्वजन्मका दुश्मन हौ भन्ने जस्ता व्यवहार सार्वजनिक रुपमै प्रकट भएका छन ।
सामाजिक संस्था भनेकै केही समय काम गर्नका लागि आउने हो । जीवन्त रहने संस्थामा झै-झगडा भन्दा नि हातेमालो गरेर समाजमा काम गर्नु पर्छ । यो ‘मुल मन्त्र’लाई मैले सुरुदेखि नै बोकेर हिडेको छु । धेरै साथीहरुलाई मैले एउटै टेवुलमा बसेर एक कप कफि वा चिया पिउने सम्बन्ध चाहि राख्नुहोस है भन्ने गरेको छु ।

डायस्पोराको नेपाली समाजलाई विभाजित गर्ने, अनि त्यहीं विभाजनलाई आफ्नो पक्षमा प्रयोग गर्ने नेपाली राजनीतिको प्रभाव बेलायती नेपाली समाजमा पनि देखिएको छ । यस्ता विभाजनकारी मानसिकताले प्रवासमा  असर पारेको छ । कोभिड-१९को महामारीबाट करीव एक सय नेपालीहरुले बेलायतमा ज्यान गुमाउनु पर्दा पनि हामी नेपालीले रिस राग, घृणा र दोषबाट मुक्त हुन सकेका छैनौं ।
तर, मे २०२१ मा आईपुग्दा मातृभुमी वा जन्मभुमी कोरोना संक्रमणका कारण नेपाली आमावुवा, दाजुभाई र दिदीवहिनीले ज्यान गुमाउन थालेपछि यतिवेला मातृभुमिका लागि यहाँको नेपाली समुदाय एकअर्कामा जोडिन थालेका छन । हामी एनआरएनए युकेका मानिसहरु मिल्दा समाजले पनि पत्याउदो रहेछ । कोरोना संक्रमणको चपेटामा परेको बेला पनि एनआरएनए युकेको एक आव्हानमा करोड रुपैयाँ सहयोग गर्न नेपाली समुदायहरु तयार भए । यसलाई मैले धेरै ठुलो उपलव्धीका रुपमा लिएको छु -‘एक हप्तामा करीब २ करोड २० लाखको प्रतिबध्दता !’

हामी विचको एकताले करीव दुई करोड रुपैयाँको अक्सिजन कन्सन्ट्रेटर खरीद गर्न सफल भएका छौ । यो रकमबाट आईसीसी मार्फत पुण्य काम गर्न लागेका छौ । आईसीसी मार्फत जन्मभुमीमा अक्सिजन कन्सन्ट्रेटर पठाउने पहलकदमीले एनआरएनए युके प्रति नेपाली समुदायले विश्वास पलाएको मैले ठानेको छु । एनआरएनए युकेमा देखिएको लामो विवादपछि एउटा विश्वासको पालुवा पलाउन लागेको छ । यो विश्वासलाई आगामी दिनमा जारी राख्नु सक्नु पर्छ । बेलायतस्थित नेपाली समाज नविग्रियोस, नबाडियोस भन्ने मेरो ध्येय छ । त्यसको लागि मैले जस्तोसुकै योगदान गर्न पनि तयार छु । (वीनेपाली)

(लेखक खड्का एनआरएनए युकेका उपाध्यक्ष हुन )

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us