डेलिगेट्स समस्या समाधान नभए सम्म चुनाव हुन सक्दैन: कुल आचार्य

४ वर्षs अगाडि

 जीएनएन 

काठमाडौँ – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) सम्बन्धी समस्या समाधान नभए सम्म चुनाव सम्भव नभएको बताएका छन्।

अहिले देखिएका सबै समस्याको समाधान गरिएमा भोलि नै पनि चुनावमा जान तयार रहेको उनले बताए ।

बिहीबार भर्चुअल माध्यमबाट आयोजित खुला डबलीमा बोल्दै आचार्यले डेलिगेट्स चयनको विवाद हुँदाहुँदै अदालतको आदेश देखाएर  मनपरि तरिकाले  निर्वाचन कार्यक्रम अगाडि बढाउनु गलत रहेको बताए ।

‘१८ वर्षको इतिहासमा जति समस्या आए पनि अदालतसम्म लानु परेको थिएन।  तर आज परराष्ट्र मंत्री र प्रधानमंत्रीलाई कुन मुखले महाधिवेशनमा निम्ता गर्ने?’ आचार्यले प्रश्न गरे। 

‘कुमार पन्तजीले पनि सहकार्यमा काम गरिदिनुस् भन्ने हाम्रो उद्देश्य हो । तर, आफ्नो अनुकूलता भएन भनेर सम्मानित व्यक्तिलाई गालीगलौज गर्न बन्द गरौं । निश्वार्थ भावनाले संस्थालाई लिड गर्नेलाई सम्मान गरौं‘ आचार्यले भने ।

‘लाज लाग्ने कामहरु भएको छ । ठूला देश, धेरै सदस्य भएका देशहरुले पठाएका डेलिगेट्सको नाम हटाउनुमा कति बदनियत लुकेको छ भन्ने छिपेको छैन,’ उनले भने ।

पराराष्ट्र मन्त्रालयसँग १८ वर्षसम्म चलेको सहकार्य तोड्न खोजेर दिनदिनै झुक्काएर संस्थामा अत्यन्त ठूलो संकट निम्त्याउने प्रयास दु:खद भएको उनले बताए । कमि कमजोरी सुधारेर निर्वाचनमा जाउँ भनिरहँदा झनै एकलौटी चुनाव गर्न अगाडि बढेकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘भ्रमको खेती बन्द गरौं,’ उनले भने।

बैंकमा बिनाब्याज विदेशमा राख्नु परेको पैसा विदेशमै बसेर अनलाईनमा खाता खोल्न सक्ने, पैसा पठाउन सक्ने त्यहाँबाट ब्याज लिनसक्ने र चाहेका बेला विदेशमै फर्काउन सक्ने व्यवस्था नेपाल सरकारले गर्न लागेको आचार्यले जनाए । ‘नेपालीहरुको बाहिरको पूँजी ल्याएर नेपाली बजारमा चलायमान गराउन सक्ने व्यवस्था गरिन लागेको उनले  बताए । संस्था मात्रै कब्जा गर्ने कि अलिअलि नेपालीका काम पनि गर्ने ?’ आचार्यले प्रश्न।  प्रवासी नेपाली हरुका काम गर्न पद नै चाहिन्छ भन्ने होइन, पद नभए पनि म काम गरिरहने छु,’ उनले भने ’

राष्ट्रिय समन्वय परिषद (एनसीसी) युकेका अध्यक्ष प्रेम  गाहा मगरले एनसीसी युकेले विधान सम्मत ढंगले १७७ जना प्रतिनिधिको सूची अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाएको र केन्द्रले त्यसलाई स्वीकार्नु पर्ने बताए।  “यदि हाम्रो सूचीलाई जस्ताको तस्तै स्वीकारिएन भने हामीले पनि सदस्यता शुल्क केन्द्रलाई पठाउने छैनौं,” उनले भने। उनले अहिलेको संकट समाधान गर्न एनआरएन युकेले पहल गर्ने पनि बताए।

एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले केन्द्रले अन्यायपूर्ण तरिकाले आफुहरुले पठाएको २५ प्रतिशत सदस्यता नामावली काटी दिएको बताए।  उनले आफुहरुले पठाएको मतदाता सूचीलाई स्वीकार नगर्ने हो भने एनसीसीहरुले केन्द्रलाई लेभी नपठाउने चेतावनी पनि दिए। 

एनसीसी कतारका अध्यक्ष मोहम्मद मोक्तादा मुसलमान, अस्ट्रियाकी अध्यक्ष भवानी तिवारी,  मलेसियाका अध्यक्ष बिनोद थापा, स्पेनका अध्यक्ष शालिक राम डुम्रे, आयरल्याण्डका अध्यक्ष बिनोद कार्की, नर्वेका अध्यक्ष जीवन शाही, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,  पूर्व अध्यक्ष केशव कंडेल, एनआरएन जापानका संस्थापक अध्यक्ष रञ्जन प्रधानांग, अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, एनआरएन युकेका प्रमुख संरक्षक शेर सुनार,   केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार थर्क  सेन, पूर्व आइसीसी सदस्य शनि कुमार ओली , होम नाथ शर्मा, एनआरएन अमेरिकाका सल्लाहकार वेद खरेल  लगायतले प्रतिनिधि समस्या समाधान गरेर मात्रै निर्वाचन कार्यक्रम अगाडी बढाउनु पर्ने नत्र ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिए।

२०२१-२३ का लागि महासचिव पदका उम्मेदवार  तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले एकलौटी रुपमा गराइने चुनाव आफुहरुलाई अमान्य हुने बताए।  उनले वार्ता र संवादद्वारा समस्याको समाधान गर्न आग्रह पनि गरे। 

संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दा मामिला गर्ने कामप्रति आफुहरुको सहमति नभएको बताए। 

संघका केन्द्रीय उपाध्यक्ष मन केसीले संस्थालाई जोगाउन सबैको सहयोग चाहिने र त्यसमा पनि मेलमिलापको लागि अध्यक्ष कुमार पन्तले पहल गर्नु पर्ने बताए। उनले समस्याको समाधान गर्ने आफुले गरिरहेको सर्वेक्षणमा भाग लिएर सहयोग गर्न पनि आग्रह गरे।

संघका केन्द्रीय सल्लाहकार कुल आचार्यले अमेरिका, अस्ट्रेलिया, युके लगायतका मुलुकका डेलिगेट्सहरुको नाम हटाउने काम बदनियतपूर्ण रहेको बताए।  

२०२१-२३ का लागि अध्यक्ष पदका उम्मेदवार आचार्यले व्यक्तिगत वा व्यापारिक स्वार्थ लिएर संसारभरिका नेपालीहरुको टाउको बेच्ने काम नगर्न खबरदारी पनि गरे। उनले विदेशी ब्यांकमा निर्व्याजी राखिएको पैसा धेरै व्याज पाइने नेपालको बैंकमा लगेर राख्न आफुले पहल गरेको र नेपाल सरकारले अनुकूल नीति बनाएकोमा धन्यवाद दिए।  उनले एनसीसीहरुलाई दबाब दिनुको सट्टा उनीहरुको माग पुरा गरिनु पर्ने बताए। 

झन्डै चार घण्टा चलेको कार्यक्रमको संचालन पत्रकार ओम शर्माले गरेका  थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us