एनआरएनए भित्रको विवाद तत्काल समाधान गर्न संरक्षकहरुलाई आग्रह

काठमाडौँ — गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्था गम्भीर मोडमा आएकाले संस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन् ।
आइतबार भर्चुएल माध्यमबाट आयोजित ‘खुला डबली’ कार्यक्रममा बोल्दै आचार्यले सबै एकै ठाउँमा बसेर रचनात्मक छलफल गर्न र सरकारसँग झगडा गर्ने कुरा आजैदेखि बन्द गर्न आग्रह गरे । जुनसुकै पार्टीको सरकार भए पनि सम्मान गर्नुपर्ने उनको विचार छ । कोही अदालत पुगेपनि सरकारसँग धेरै काम गर्न बाँकी रहेको उनले सुनाए । ‘के गैर आवासीय नेपालीका समस्यालाई रद्दीको टोकरीमा हालेर अगाडि बढ्न खोजेको हो?’ उनले प्रश्न गरे ।
‘अहिलेका सबै स्टेकहोल्डरले मन्त्रालयसँग सिंगौरी खेल्दै होइन, विधिविधान अनुसार दिएको निर्देशनलाई कार्यान्वयन गर्नु पर्छ । सकिन्छ मिलेर जाऔं, नसके पारदर्शी ढंगबाट चुनाव लडेर अगाडि जाउँ । ‘एकदिन सत्यको विजय हुन्छ । झुठको खेती नगरौं । संसारभरका नेपाली धेरै सक्षम भैसके । हामी सबै मिलेर संस्था बचाउनु पर्छ,’ अध्यक्षका प्रत्यासी आचार्यले थपे, ‘लामो समय काम गर्नुभएका संरक्षकज्यूहरुले उत्तरदायी भूमिका खेलिदिनुहोस् ।’
‘संसारभरिका नेपालीको टाउको बेच्ने काम भएको छ भने हामी खबरदारी गर्छौं । एउटा नेपालीले अर्कोलाई ठगेको छ भने त्यो सहनसक्ने विषय होइन,’ आचार्यले थपे । उनले संस्था नेपालीका दुःखसुखमा साथ दिन, नेपालसँग जोड्नका लागि बनाइएको तर कसैको व्यापारिक दृष्टिकोणले बनाइएको संस्था नभएको उनले स्पष्ट पारे ।
’टिम कुल’ द्वारा आयोजित ‘खुला डबली विशेष’ मा बोल्दै सन् २०१९–२१ का उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक भएको बताए। उनले एनआरएनए जुटेर हैन, फुटेर जानु पर्ने पनि बताए।
आइसीसीका उपाध्यक्ष मन केसीले संघका कुनै पनि निकायमा छलफल र निर्णय नगरी नेपाल सरकार विरुद्ध मुद्दा गर्ने काम मान्य नहुने बताए। “हामीलाई अन्धकारमा राखिएको छ। सरकार विरुद्ध मुद्दा हाल्ने कामले गलत नजीर बसालेको छ।’
यसै गरी २०२१–२३ का लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले संस्थाका केही अगुवाहरुले एनआरएनएको नाममा व्यापार गरिरहेको बताउँदै त्यो हतियार उनीहरुले त्याग्न नचाहेको खुलासा गरे ।
गैर आवासीय नेपाली संघका सल्लाहकार तथा एनआरएन हंगकंगका पूर्व अध्यक्ष त्रिलोक गुरुङले संघमा चरम विवाद र अनियमितता आएको भन्दै दुख व्यक्त गरे ।
युरोप संयोजक नारायण आचार्यले अदालत जाने बारे संस्था भित्र कुनै पनि छलफल नभएको बताए। हालका सीइओ राजेश राणालाई जबर्जस्ती हटाउंदा संस्थालाई लाखौं घाटा लागेको भन्दै उनले यस पटक पनि सर्वसाधारण एनआरएनले तिरेको शुल्क खर्च गरेर मुद्दा मामिला नगर्न चेतावनी दिए। “यदि त्यसो गरियो भने आउंदै गरेको कमिटिले सम्बन्धित पदाधिकारीहरुबाट शोध भर्ना गराउनु पर्छ,” उनले भने।
कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी जर्मनीका पूर्व अध्यक्ष दिल गुरुङ, कानूनविद् डा. बलराम श्रेष्ठ, अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ लगायतका वक्ताले विवादित विषयलाई संस्था भित्रै मिलाउन आह्वान गरेका थिए।

