बेलायतमा ‘लखन थापा मगर मेमोरियल गल्फ’ हुँदै: १३८ खेलाडी र २२ टोली भिड्ने
२ घण्टा अगाडि
डायस्पोरा नेपाल
लन्डन। मगर संघ यूकेको आयोजनामा बेलायतमा पहिलो पटक ‘प्रथम शहीद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ। मेडेनहेडस्थित बर्ड हिल्स गल्फ सेन्टरमा यही शनिबार (१५ अगष्ट) हुने प्रतियोगितामा बेलायतभरका १३८ जना खेलाडी र २२ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालका प्रथम शहीद लखन थापा मगरको योगदान र बलिदानको स्मरण गर्दै बेलायतमा रहेका नेपाली गल्फ खेलाडीहरूबीच मित्रता, सद्भाव र भाइचारा प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा व्यक्तिगत तथा टोलीगत (टिम) दुवै विधामा प्रतिस्पर्धा हुनेछ। मुख्य आकर्षणका रूपमा रहेको ‘लखन थापा मगर शिल्ड’का लागि २२ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रत्येक टोलीमा ५ जना खेलाडी रहने र तीमध्ये उत्कृष्ट ४ खेलाडीको स्कोरका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएका छन्। टोलीतर्फको विजेताले प्रतिष्ठित शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार पाउनेछ भने उपविजेताले ट्रफी र २५० पाउन्ड प्राप्त गर्नेछ। यो पुरस्कार मुख्य आयोजक मगर संघ यूकेले नै प्रायोजन गरेको हो।
त्यस्तै, व्यक्तिगत प्रतिस्पर्धाअन्तर्गत ‘ग्रस’ र ‘नेट’ विधाका विजेताहरूलाई जनही २५० पाउन्ड नगद र ट्रफी प्रदान गरिनेछ। ग्रस विजेताको पुरस्कार ओआईसी क्याप्टेन टम ढेगाले र नेट विजेताको पुरस्कार ए स्टार फाइनान्सियल सलुशन्स यूकेले प्रायोजन गरेका छन्। प्रतियोगितालाई थप प्रतिस्पर्धी बनाउन खेलाडीहरूको क्षमताका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन ह्यान्डिक्याप डिभिजनमा विभाजन गरिएको छ, जहाँ प्रत्येक डिभिजनका शीर्ष दुई खेलाडीले पुरस्कार जित्नेछन्। प्रतियोगिता स्ट्रोक प्ले प्रणालीमा हुनेछ भने १९ देखि २४ ह्यान्डिक्याप भएका खेलाडीका लागि स्टेबलफोर्ड प्रणाली लागू हुनेछ। यसका साथै ‘लङ्गेस्ट ड्राइभ’, ‘नियरेस्ट टु द पिन’, सिनियर र जुनियर विधामा पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको दिन बिहान साढे ६ बजेदेखि क्लब हाउसमा खेलाडीहरूको उपस्थिति सुरु हुनेछ। बिहान ७ बजे दर्ता, पौने ८ बजे सामूहिक तस्बिर र खेलसम्बन्धी जानकारीपछि बिहान ८ बजे पहिलो ‘टी अफ’ (खेल सुरु) हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि सोही साँझ ७ बजे ठमेल रेस्टुरेन्ट एन्ड बारमा पुरस्कार वितरण तथा रात्रिभोजको कार्यक्रम राखिएको छ। मगर संघ यूकेले यस प्रतियोगिताले बेलायतस्थित नेपाली समुदायमा खेलकुदका साथै एकता, सद्भाव र आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
