रिटर्नीको सीप, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : शंकर पोखरेल

३ घण्टा अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपालीको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले रिटर्नीमैत्री नीति तथा कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण : सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले विदेशमा हासिल गरेको अनुभवलाई उद्यमशीलतामा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले रिटर्नीका अपेक्षालाई नीति र कानुनमार्फत सम्बोधन गर्नु जायज भएको उल्लेख गर्दै राष्ट्रिय नीति सही हुनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण हुनुपर्नेमा जोड दिए ।

उनले भने,‘विदेशबाट फर्किएका नेपालीहरूले विदेशमा हासिल गरेको सीप, अनुभव, ज्ञान र पुँजीलाई नेपालमा उद्यमशीलताका क्षेत्रमा प्रयोग गर्न सक्ने वातावरण राज्यले बनाउनुपर्छ । त्यसका लागि रिटर्नीमैत्री नीति र आवश्यक कानुन निर्माण गर्न जरुरी छ । राष्ट्रिय नीति सही हुनुपर्छ र त्यसलाई कार्यान्वयन गर्न कानुन पनि त्यहीअनुसार बन्नुपर्छ । रिटर्नीहरूले उठाएका विषयलाई नीति र कानुनमार्फत सम्बोधन गर्ने प्रयास सकारात्मक छ ।’

उनले रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार तथा नयाँ कानुनको आवश्यकताबारे थप विस्तृत छलफल गर्नुपर्ने बताए । पुँजी परिचालन, प्रविधि भित्र्याउने तथा त्यसको उपयोग गर्ने विषयमा समेत गहन विमर्श आवश्यक रहेको उनको भनाइ थियो ।

पोखरेलले विदेशमा रहेका नेपालीले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको सम्पर्क र अनुभवमार्फत नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन ‘सूत्रधार’को भूमिका निर्वाह गर्न सक्ने बताए । राज्यले सहजीकरण गर्ने हो भने विदेशमा रहेका नेपालीको सञ्जालमार्फत पुँजी परिचालन तथा प्रविधि हस्तान्तरणको सम्भावना रहेको उनले बताए ।

उनले भने, ‘रिटर्नीसम्बन्धी विद्यमान कानुनमा सुधार गर्नुपर्ने विषय छन् भने त्यसबारे छलफल गर्नुपर्छ र आवश्यकताअनुसार नयाँ कानुन पनि बनाउनुपर्छ । पुँजीलाई कसरी परिचालन गर्ने, प्रविधिलाई कसरी भित्र्याउने र त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा पनि थप गहन छलफल आवश्यक छ । विदेशमा रहेका नेपालीहरूले आफूले काम गरेका बहुराष्ट्रिय कम्पनी तथा संस्थासँगको अनुभव र सम्पर्कका आधारमा नेपालमा विदेशी पुँजी र प्रविधि भित्र्याउन सूत्रधारको भूमिका खेल्न सक्छन् । राज्यले सहजीकरण गर्ने हो भने विदेशमा रहेका नेपालीको सञ्जालमार्फत पुँजी परिचालन र प्रविधि हस्तान्तरणको ठूलो सम्भावना छ ।’

उनले विदेशमा रहेको नेपाली डायस्पोरालाई नेपालको राष्ट्रिय हित प्रवद्र्धनमा समेत उपयोग गर्न सकिने धारणा राखे । नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्धसँगै फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नुपर्ने बताए ।

विदेशमा रहेका नेपाली समुदायले विगतमा नेपालको हितमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पोखरेलले भविष्यमा पनि राष्ट्रिय हितका लागि उनीहरूको सम्पर्क र सम्बन्धलाई उपयोग गर्न सकिने बताए ।

त्यसैगरी, विदेशमा रहेका नेपाली युवाले हासिल गरेको ज्ञान, सीप र दक्षताको अभिलेख तयार गरी राज्यसँग जोड्नुपर्नेमा उनले जोड दिए। विदेशमा रहेका दक्ष जनशक्तिको क्षमता पहिचान गरी राष्ट्र निर्माणमा उपयोग गर्न सके राज्यले ठूलो लाभ लिन सक्ने उनको भनाइ थियो ।

उनले रिटर्नीसम्बन्धी नीतिगत प्रस्ताव तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायमा बुझाउन सुझाव दिए । राज्यले अघि सारेका विधेयक तथा कानुनको समीक्षा गरी आवश्यक सुधारका लागि अवधारणापत्र तयार गरेर सांसदहरूमार्फत संसद्मा विषय उठाउन सकिने उनको भनाइ थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us