स्कटल्यान्डमा दोस्रो नेपाली मेला भव्य रुपमा सम्पन्न
लन्डन- स्कटल्यान्डको राजधानी एडिनबरामा दोश्रो नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ।
सोमबार प्रिन्स स्ट्रिट गार्डेनस्थित रोस ब्यान्डस्ट्यान्डमा आयोजित मेलामा टाढाटाढाबाट आएका नेपाली तथा स्थानीय स्कटिश समुदायको ठूलो उपस्थिति थियो।
विश्व प्रसिद्ध एडिनबरा क्यासलको काखैमा रहेको मैदान ध्वजापताकाले सिंगारिएको थियो । त्यस्तै कार्यक्रमस्थल वरिपरि सगरमाथा र बुद्धका ठूलठूला तस्विर अंकित ब्यानरहरु सजाइएको थियो ।
मौलिक नेपाली भेषभूषामा सजिएका सयौं नेपाली, देउडादेखि झ्याउरेसम्मका संगीत, साकेला र लाखे नाच लगायतका प्रस्तुतिले स्कटल्याण्डभित्रै मिनी नेपालको झल्को दिलाएका थिए ।
मेलामा पूर्वदेखि पश्चिमसम्मका विभिन्न नेपाली जाति र समुदायका परम्परा, कला र संस्कृति झालाकुने प्रस्तुतिहरु गरिएका थिए ।
मेलामार्फत् स्कटल्यान्डमा नेपालीपन प्रवर्द्धन मात्र होइन, स्कटल्यान्डप्रतिको प्रेम र स्थानीय समुदायसंगको सद्भाव र मित्रताको सन्देश छर्ने कोशिस गरिएको आयोजकको भनाइ छ।

स्कटल्यान्डमा रहेका दर्जन बढी नेपाली संघसंस्थाको सहकार्यमा लन्डनस्थित नेपाली दूतावास र एनआरएनए स्कटल्यान्डद्वारा संयुक्त रुपमा आयोजित दोस्रो नेपाली मेलामा झण्डै तीन हजार स्थानीय नेपाली सहभागी बनेको आयोजकले जनाएका छन् । मेला हेर्न उल्लेख्य संख्यामा स्कटिश तथा अरु विदेशी पनि आएका थिए।
मेला उद्घाटन समारोहका प्रमुख अतिथि स्थानीय स्कटिश सांसद मार्टिन डेले नेपाली मेलामार्फत् स्कटल्यान्डमा नेपालको विशिष्ट कला, संस्कृतिको प्रदर्शनी गरिएकोमा प्रसन्नता व्यक्त गरे । स्कटल्यान्डको समृद्धि र विकासमा पुराएको योगदानको प्रशंसा गर्दै उनले नेपाली समुदायलाई धन्यवाद समेत दिए ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले दोश्रो नेपाली मेलाले नेपाली र स्थानीय स्कटिश समुदायबीचको मित्रता र सद्भावपूर्ण सम्बन्ध सुदृढ गर्न पुलको काम गरेको बताए । उनले नेपाल र स्कटल्यान्डबीच राज्य, समुदाय र नागरिक तीनै स्तरको सहकार्य प्रवर्द्धन गर्न दूतावास प्रतिबद्ध रहेको जनाए । उनले नेपाली मेला सफल पार्न सघाउने सबैलाई धन्यवाद पनि दिए ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपाली मेलाले स्कटल्यान्डको सिंगो नेपाली समुदायलाई एकताबद्ध गरेको भन्दै यसको निरन्तरतामा जोड दिए । उनले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, सम्पदा र पहिचान प्रवर्द्धन गर्न गैर आवासीय नेपाली समुदायले सक्दो योगदान गरिरहेको चर्चा गरे। उनले स्कटल्याण्ड र नेपालको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आगामी दिनमा जनस्तरमा यो सम्बन्ध अरु सुदृढ बनाउंदै लैजानु पर्ने जनाए।
समारोहको अध्यक्षता गरेका एनआरएनए स्कटल्यान्ड संरक्षक काशीराम भण्डारीले यसपटक मेलामा स्थानीय स्कटिश समुदायको सहभागिता बढ्नु उपलब्धिपूर्ण रहेको बताए । मेलाका स्टलहरुमा गैरनेपाली समुदायका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।
मेला संयोजक एवं एनआरएनए स्कटल्यान्ड अध्यक्ष शेरबहादुर केसीले नेपाली मेलाले स्कटल्याण्डमा नेपाललाई चिनाउन र नेपालको पर्यटन प्रवर्द्धन गर्न मदत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल र स्कटल्यान्डका राष्ट्रिय गानसंगै मेलाको उद्घाटन गरिएलगत्तै स्कटिश पाइपर र नेपाली नौमती बाजाको धुनसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले मेलास्थलको परिक्रमा गरेका थिए । परेडपछि स्थानीय समुदाय र कलाकारहरुको सहभागितामा विविध सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो।

सो अवसरमा गत वर्ष सम्पन्न पहिलो नेपाली मेला स्कटल्यान्डलाई सफल बनाउन योगदान पुर्याउने एनआरएनए स्कटल्यान्डका तत्कालीन अध्यक्ष दिवाकर पाण्डेसहित अन्य अभियन्तालाई नेपाली दूतावासको तर्फबाट सम्मान गरिएको थियो।

मेलामा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरु प्रकाश दूतराज, इन्द्र जिसी, मञ्जु विक, शोभा त्रिपाठी, रमेशराज भट्टराई लगायतले रोचक प्रस्तुतिद्वारा सहभागीहरुलाई नचाएका थिए ।
