जर्मनीको बोनमा ‘नेपाल फेस्टिभल’ भव्य रुपमा सम्पन्न
जर्मन-नेपाल मैत्री सङ्घद्वारा प्रत्येक वर्ष आयोजना गरिने ‘नेपाल फेस्टिवल’ (नेपाल ट्याग) यस वर्ष पनि विविध कार्यक्रमका साथ जर्मनीको बोन सहरमा भव्यताका साथ सम्पन्न भएको छ।
फेस्टिवलमा नेपालको समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक आन्दोलनपछिको परिवर्तित राजनीतिक वातावरण तथा नेपाल–जर्मनी सहकार्यका विविध पक्षहरूमा गहन छलफल गरिएको थियो। चर्चित गायिका आनी छोइङ्ग ड्रोल्माले गाएको ‘जय होस् तिम्रो मंगल होस्, चित्त सधैंभरि निर्मल होस्’ भन्ने लोकप्रिय गीतको भिडियो प्रदर्शनबाट सुरु गरिएको कार्यक्रमको उद्घाटन जर्मन-नेपाल मैत्री सङ्घका अध्यक्ष रामप्रताप थापाले गरेका थिए ।
सहभागीहरूलाई स्वागत गर्दै अध्यक्ष थापाले नेपाल र जर्मनीबिचको मैत्रीपूर्ण सम्बन्ध र साझेदारीलाई बलियो बनाउन करिब चार दशकदेखि जर्मन–नेपाल मैत्री सङ्घले निरन्तर प्रयास गर्दै आएको र जर्मन सरकार एवं गैरसरकारी क्षेत्रको सहयोगका कारण यो प्रयास सफल हुँदै आएको बताए ।

कार्यक्रमको पहिलो सत्रमा नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएका जर्मन संस्थाहरूले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा नेपालमा सञ्चालन गर्न सकिने विकास परियोजनाहरूको विस्तृत खाका सार्वजनिक गरेका थिए। विशेषगरी शिक्षा, स्वास्थ्य तथा दुर्गम क्षेत्रको विकासलाई केन्द्रमा राखेर तयार गरिएका योजनाहरू सहभागीसमक्ष प्रस्तुत गरिएको थियो। छलफलका क्रममा नेपालका विद्यालय, स्वास्थ्य चौकी तथा दुर्गम गाउँबस्तीहरूमा सञ्चालित कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो रूपमा अगाडि बढाउने उपायहरूबारे विचार–विमर्श गरिएको थियो। साथै, यस्ता परियोजनाका लागि आवश्यक स्रोत–साधन तथा आर्थिक सहयोग जुटाउने विषयमा समेत सहभागीहरूले व्यावहारिक सुझाव र अनुभव आदानप्रदान गरेका थिए।

यस पटकको फेस्टिवलमा पूर्वराजदूतहरू, लामो समयदेखि नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा कार्यरत जर्मन तथा नेपाली विज्ञ, विकासकर्मी र विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल–जर्मनीबिचको मित्रता, विकास सहकार्य र सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित प्राज्ञिक बहसका क्रममा विभिन्न विधाका विशेषज्ञहरूले आ-आफ्नो प्रस्तुति राखेका थिए। जसमा डा. कार्ल–हाइन्ज क्रेमर र प्रा. डा. पुष्पराज जोशीले ‘जेनजी आन्दोलनपछिको नेपाल: आशा कि राजनीतिक गतिरोध?’ विषयमा विवेचना गर्नुभएको थियो भने राइनर स्ट्राउसले नेपालको शिक्षा प्रणालीमा परिवर्तन तथा एल्के बराउश–हुमेसले नेपालमा शिक्षक प्रशिक्षणबारे आफ्नो अनुभव प्रस्तुत गरे । त्यस्तै, सिमा ढुंगानाले जर्मनीमा नेपाली साहित्यको अवस्थाबारे प्रकाश पारिन् ।

स्वास्थ्य, पूर्वाधार र कला क्षेत्रलाई समेटिएको अर्को सत्रमा ‘नेपालमेड’का डा. अर्ने ड्रेव्सले स्वास्थ्य संस्कृति र स्वास्थ्य सेवाका विषयमा तथा ‘नेपाल–एड’का डा. फ्रान्क साइलरले नेपालमा सञ्चालित परियोजनाहरूलाई नयाँ दृष्टिकोणबाट सोच्नुपर्ने आवश्यकतामाथि जोड दिए । यसैगरी, प्रवासमा कला र संस्कृतिबारे इम्प्रेस सिंह, नेपाली चित्रकलामा पहिचानको विषयमा सोफिया कैजर र पहाडी गाउँहरूबिच विद्युत् सञ्जाल विस्तारका बारेमा सिमोन शन्युररले महत्त्वपूर्ण जानकारी गराए ।
सांस्कृतिक पक्षलाई विशेष प्राथमिकता दिइएको यस कार्यक्रममा नयाँ पुस्ताका नेपाली युवायुवतीहरूले पनि आफ्नो अनुभव, सोच र भावनाहरू प्रस्तुत गर्दै दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउन युवा पुस्ताको भूमिकाबारे जोड दिएका थिए। कार्यक्रममा नेपाली झाँकी, लोक सांस्कृतिक नृत्य तथा सङ्गीतका आकर्षक प्रस्तुतिहरू गरिएका थिए, जसले अन्तर्राष्ट्रिय समुदायका दर्शकहरूको विशेष ध्यान आकर्षण गरेको थियो। सो क्रममा योग प्रशिक्षक ओम शर्माले योग र ध्यानको महत्त्वबारे बोल्दै अभ्यास गराएका थिए भने सहराजद तारा तैबले पौराणिक ‘बज्रसत्व मन्त्र डान्स’ प्रस्तुत गरे । साथै, उवे लुकद्वारा निर्मित हस्तनिर्मित काँसको बटुको सम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।
