फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन दोस्रो पटक फाइनलमा प्रवेश

१८ घण्टा अगाडि

डायस्पोरा नेपाल

फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २-० को सानदार जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको छ। अमेरिकाको टेक्ससस्थित आर्लिङ्टनमा मंगलबार राति भएको यस खेलसँगै स्पेनले फ्रान्स विरुद्ध आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। यसअघि युइएफए युरो २०२४ को सेमिफाइनल र २०२५ को युइएफए नेसन्स लिगको सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई पराजित गरेको थियो, जसका कारण फ्रान्सविरुद्ध स्पेनको यो लगातार तेस्रो जित हो।

खेलको पहिलो हाफमा स्पेनका युवा सनसनी लामिन यमाललाई डिबक्स भित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। उक्त पेनाल्टीलाई फरवार्ड मिकेल ओयार्जाबालले सहजै गोलमा परिणत गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। खेलको दोस्रो हाफको सुरुवातमै स्पेनका फुलब्याक पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलभरि सानदार प्रदर्शन गरेका पोरो ‘प्लेयर अफ दि म्याच’ घोषित भए। यस जितसँगै स्पेनले आगामी जुलाई १९ मा इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा स्थान पक्का गरेको छ । उपाधिका लागि इङ्गल्याण्ड वा अर्जेन्टिनाको सामना गर्नेछ।

खेलको पहिलो हाफमा फ्रान्सका भरपर्दा सेन्ट्रल डिफेन्डर विलियम सालिबा ढाडको चोटका कारण मैदान छाड्न बाध्य भएपछि फ्रान्स थप संकटमा परेको थियो। उनको स्थानमा म्याक्सेन्स लाक्रोइक्स मैदान प्रवेश गरेका थिए। स्पेनले खेलभरि बलमाथि आफ्नो नियन्त्रण कायम राख्दै फ्रान्सका खतरनाक फरवार्डहरू माइकल ओलिसे, किलियन एम्बाप्पे र उस्मान डेम्बेलेलाई पूर्ण रूपमा शान्त राख्यो। पहिलो हाफमा १-० ले पछि परेको फ्रान्सका लागि इतिहास पनि अनुकूल थिएन, किनकि विश्वकपको सेमिफाइनलमा पहिलो हाफमा पछि परेर पनि कमब्याक गर्दै खेल जित्ने कीर्तिमान यसअघि अर्जेन्टिना (१९९० मा इटालीविरुद्ध) र क्रोएसिया (२०१८ मा इङ्गल्याण्डविरुद्ध) ले मात्र बनाएका छन्।

खेलको लय परिवर्तन गर्न फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसक्याम्प्सले दोस्रो हाफको सुरुमै एड्रिएन राबियोटको स्थानमा मनु कोने र पछि ब्राडली बारकोलाको स्थानमा डेसिरे डोउलाई मैदानमा उतारेका थिए। तर, स्पेनको निरन्तरको दबाब र गोलकिपर उनाई सिमोनको उत्कृष्ट बचाउका सामु फ्रान्सेली टोलीको केही चलेन। यसै बीच पोरोले एक सुन्दर मुभलाई गोलमा परिणत गर्दै फ्रान्सको पूरै आशा समाप्त पारिदिए। यस ऐतिहासिक जितसँगै स्पेनले लगातार ३७ खेलसम्म अपराजित रहने इटालीको कीर्तिमानसँग बराबरी गरेको छ भने आफ्नो इतिहासमा दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुग्ने गौरव प्राप्त गरेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us