ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनालले गरे ब्रिटिश रक्षा मन्त्रीसँग संवाद
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा मन्त्री ड्यान जार्विसबीच छलफल भएको छ। मङ्गलबार भएको भर्चुअल छलफलमा विगत लामो समयदेखि समाधान हुन नसकेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका गुनासो र मागहरूको सम्बोधन गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले नेपाल र बेलायत बिचको ऐतिहासिक सम्बन्धमा ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै गोर्खाहरूको यो लामो समयदेखिको समस्यालाई जतिसक्दो चाँडो आपसी सहमतिमा टुग्यांउन आग्रह गरेका थिए ।
गोर्खाहरूले बेलायतका लागि पुर्याएको योगदान, त्याग र बलिदानलाई मानवीय दृष्टिकोणबाट मूल्याङ्कन गर्दै उनीहरूका मागहरू न्यायोचित ढङ्गले सम्बोधन गर्न बेलायत सरकारसँग मन्त्री खनालले आग्रह गरेको मन्त्रालयले जनाएको छ।
यसका साथै नेपाल सरकार यो समस्यालाई रचनात्मक र सहयोगात्मक ढङ्गले समाधान गर्नका लागि आवश्यक भूमिका खेल्न सदैव तयार रहेको मन्त्री खनालले स्पष्ट पारे।
जवाफमा बेलायती रक्षा मन्त्री ड्यान जार्विसले ब्रिटिश गोर्खाहरू बेलायती सेनाको एक अभिन्न अङ्ग रहेको उल्लेख गर्दै उनीहरूको यो मुद्दालाई छिटोभन्दा छिटो टुङ्ग्याउनु आफ्नो सरकारको प्राथमिकतामा रहेको बताएका थिए।
भर्चुअल छलफलमा परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल र मन्त्रालयका अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। यसअघि पनि गत जुन ९ तारिखमा परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षा मन्त्री ड्यानबीच भर्चुअल संवाद भएको थियो।
