गैरआवासीय नेपाली ऐन ६ महिनाभित्र पारित हुने अपेक्षा: महान्यायाधिवक्ता कँडेल

२ दिन अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले गैरआवासीय नेपालीसम्बन्धी कानुनी एवं नीतिगत सुधार र नागरिकता निरन्तरताका सवालमा महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेको छ । संघकी उपाध्यक्ष एवं नागरिकता निरन्तरता समिति (सीएनसी) संयोजक रोजिना प्रधान राईको नेतृत्वमा गएको टोलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयमा भेटघाट गरी प्रस्तावित गैरआवासीय नेपाली ऐनलाई शीघ्र अगाडि बढाउन आग्रह गरेको हो । भेटका क्रममा संघले परराष्ट्र मन्त्रालयको श्रम, आप्रवासन तथा प्रवासी समन्वय महाशाखामा पेश भइसकेको गैरआवासीय नेपालीसम्बन्धी विधेयकलाई सरकारको प्राथमिकतामा राखेर संसद्बाट पारित गराउन सहजीकरणका लागि अनुरोध गरेको छ ।

छलफलका क्रममा संघका प्रतिनिधिहरूले नेपालमा बैंक खाता सञ्चालन र सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्राप्ति जस्ता तत्काल समाधान गर्न सकिने प्रशासनिक झन्झटहरूलाई कार्यकारी निर्णयमार्फत सम्बोधन गर्न माग गरेका छन् । त्यसैगरी संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी प्रबन्ध छिटो मिलाउनुपर्नेमा जोड दिँदै संघले नेपाल विकास कोष (एनडीएफ) सँग जोडिएका धितोपत्र बोर्ड (सेबोन) का सवालहरू समेत उठाएको थियो । दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई स्वदेशसँग जोड्न, लगानी तथा ज्ञान हस्तान्तरणका लागि अनुकूल वातावरण बनाउन र विधेयक संसद्मा लैजानुअघि सरोकारवालासँग पर्याप्त परामर्श गर्न संघले ध्यानाकर्षण गराएको छ ।

जवाफमा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले गैरआवासीय नेपाली समुदायले मुलुकको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै बैंकिङ पहुँच जस्ता तत्काल सम्बोधन गर्न सकिने प्रशासनिक समस्या सुल्झाउन नेपाल राष्ट्र बैंक लगायतका निकायसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रस्तावित गैरआवासीय नेपाली ऐनलाई अन्तिम रूप दिँदा राष्ट्रिय देवानी संहिताका प्रावधानहरूलाई ध्यानपूर्वक अध्ययन गरी कानुनी स्पष्टता कायम गर्न सुझाव दिँदै उहाँले विधायन प्रक्रियाअनुसार करिब ६ महिनाभित्र ऐन पारित हुने अपेक्षा व्यक्त गरे । नयाँ ऐन जारी भएसँगै संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो थप सहज हुने विश्वास व्यक्त गर्दै दुवै पक्षले मुलुकको दीर्घकालीन विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन् ।

भेटघाटमा महान्यायाधिवक्ता कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कँडेलसँगै नायब महान्यायाधिवक्ता खेमनारायण ज्ञवाली, सहन्यायाधिवक्ता मिना गुरुङ र उपन्यायाधिवक्ता प्रकाश घिमिरेको उपस्थिति थियो भने एनआरएनएका तर्फबाट उपाध्यक्ष राईसहित महिला सह-कोषाध्यक्ष गंगा खतिवडा, महिला संयोजक रश्मी थापाको सहभागिता थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us