‘ढोकाभित्र छिर्नुअघि नै स्पष्ट योजना चाहिन्छ’ : रेचल रिभ्स
लन्डन । बेलायतकी अर्थमन्त्री (चान्सलर) रेचल रिभ्सले भावी प्रधानमन्त्री एन्डी बर्नहमलाई सत्ताको बागडोर सम्हाल्नु अघि नै पूर्ण तयारीका साथ आउन सुझाव दिएकी छन्। डाउनिङ स्ट्रिट (प्रधानमन्त्री निवास) मा बर्नहमको आगमन हुन अब एक हप्ताभन्दा कम समय बाँकी रहँदा रिभ्सले यस्तो चेतावनीमिश्रित सुझाव दिएकी हुन्।
ब्रिटिस सञ्चारमाध्यम बीबीसीकी पत्रकार लाउरा कुएन्सवर्गसँगको विशेष अन्तर्वार्तामा चान्सलर रिभ्सले भनिन्, “एन्डीले डाउनिङ स्ट्रिटको ढोकाबाट भित्र पाइला टेक्दा उनीसँग एउटा परिपक्व र ठोस योजना हुनु आवश्यक छ। बेलायतमा सरकार चलाउनु निकै चुनौतीपूर्ण काम हो र यहाँ जुनसुकै बेला अप्रत्यासित धक्का वा चुनौतीहरू आउन सक्छन्।”
प्रधानमन्त्री सर किएर स्टारमरको कार्यकाल किन चाँडै समाप्त हुँदैछ भन्ने प्रश्नमा रिभ्सले देशमा द्रुत परिवर्तनको तीव्र जनचाहना प्रमुख कारण रहेको स्वीकार गरिन्। उनले भनिन्, “जनता परिवर्तनका लागि आतुर छन्। म आफैं पनि चाँडो परिवर्तन चाहन्छु, त्यसैले मानिसहरू किन आफ्नो जीवनस्तर चाँडै बदलिएको हेर्न चाहन्छन् भन्ने कुरा म पूर्ण रूपमा बुझ्छु।”
करिब दुई वर्षअघि सन् २०२४ को जुलाईमा लेबर पार्टीले ठूलो जित हासिल गरेपछि रिभ्सले पहिलो पटक चान्सलरको रूपमा कार्यभार सम्हालेकी थिइन्। तर, त्यसको २४ महिनामै आफू र प्रधानमन्त्री स्टारमरले डाउनिङ स्ट्रिट छोड्नुपर्ला भन्ने उनले सोचेकी थिइनन्। आगामी नयाँ सरकारमा आफ्नो भूमिका के हुनेछ वा आफू चान्सलर पदमै रहने-नरहनेबारे भने उनले स्पष्ट खुलाउन चाहिनन्।
आफ्नो कार्यकालको समीक्षा गर्दै रिभ्सले विगत दुई वर्षमा आफूले बेलायती अर्थतन्त्रमा “स्थिरता र विश्वास” फर्काएको दाबी गरिन्। कन्जरभेटिभ पार्टीबाट आफूले विरासतमा पाएको भन्दा निकै बलियो अर्थतन्त्र बर्नहमलाई हस्तान्तरण गर्न लागेको उनको भनाइ थियो। उनले सरकारी ऋणको लागत घटेको, मुद्रास्फीति नियन्त्रणमा आएको र पूर्वाधारमा लगानी बढेको विषयलाई आफ्नो सफलताको रूपमा प्रस्तुत गरिन्।
रिभ्सले आफ्नो कार्यकाल सफल रहेको दाबी गरे पनि आर्थिक सूचकहरू पूर्ण रूपमा सकारात्मक देखिँदैनन्। बैंक अफ इङ्गल्यान्डले ब्याजदर अझै बढ्न सक्ने चेतावनी दिएको छ भने सर्वसाधारणको खर्च गर्ने क्षमता (डिस्पोजेबल इनकम) मा गिरावट आएको तथ्याङ्कले देखाउँछ।
लेबर पार्टीकै कतिपय नेताहरूले रिभ्सको नीतिको आलोचना गरेका छन्। एक पूर्व वरिष्ठ मन्त्रीका अनुसार, रिभ्सले सुरुमा अघिल्लो सरकारको खराब आर्थिक अवस्थाको धेरै रोइलो गरेर राजनीतिक पूँजी गुमाइन्, जसका कारण पछि उनले कल्याणकारी योजनाहरूमा आवश्यक सुधारका ठूला एजेन्डाहरू अघि बढाउन सकिनन्।
विशेष गरी लाखौँ वृद्धवृद्धाहरूको हिउँदकालीन इन्धन भत्ता (विन्टर फ्युल एलाउन्स) कटौती गर्ने उनको विवादास्पद निर्णयले स्टारमर सरकारको लोकप्रियतामा ठूलो धक्का पुर्याएको मानिन्छ। यसैगरी, रोजगारदाताहरूमाथि राष्ट्रिय बीमा कर बढाउने उनको निर्णयले व्यवसायिक क्षेत्रमा असन्तुष्टि बढाएको र कतिपय कम्पनीहरूले कर्मचारी कटौती गर्न थालेको बजार विश्लेषकहरूको भनाइ छ।
आफ्नो कार्यकालको सबैभन्दा कठिन क्षणको स्मरण गर्दै पहिलो महिला चान्सलर रिभ्सले गत वर्षको जुलाईमा संसद् (हाउस अफ कमन्स) को ‘प्राइम मिनिस्टर्स क्वेसन्स’ सत्रका क्रममा आफू भावुक भई रोएको प्रसङ्ग उल्लेख गरिन्। “राष्ट्रिय टेलिभिजनमा रुनु मेरो कार्यकालको सबैभन्दा कठिन क्षण थियो,” उनले भनिन्, “र त्योभन्दा पनि पीडादायी कुरा भोलिपल्ट देशका मुख्य पत्रिकाहरूको पहिलो पृष्ठमा मेरो रोएको तस्बिर छापिनु थियो।”
भावी प्रधानमन्त्री बर्नहमले विगत एक वर्षदेखि नै लेबर पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्ने आन्तरिक तयारी गरिरहेको विषयमा टिप्पणी गर्दै उनले भनिन्, “मानिसहरूमा महत्त्वाकांक्षा हुनु स्वाभाविक हो। बर्नहमले लेबर पार्टीको नेतृत्व गर्ने इच्छा कहिल्यै लुकाएनन्। म चाहन्छु कि उनी पूर्ण रूपमा तयार रहून् र उनको कार्यकाल सफल होस्।”
