विश्व तेक्वान्दो प्रेसिडेन्ट कप जी थ्री मा टिम जीबीआरका लागि सुरथ लामाले जिते कांस्य पदक

१९ घण्टा अगाडि

डायस्पोरा नेपाल

स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका तेक्वान्दो खेलाडी सुरथ लामाले मे ३ मा सम्पन्न World Taekwondo President Cup G3 2026 अन्तर्गत अन्डर–६० पुरुष विधामा टिम जीबीआरका तर्फबाट व्यक्तिगत कांस्य पदक जित्न सफल भएका छन्।

प्रतिष्ठित प्रतियोगितामा पदक जितेपछि लामाले खुसी व्यक्त गर्दै भने, “प्रेसिडेन्ट कप G3 प्रतियोगिता निकै प्रतिष्ठित उपाधि हो र म अत्यन्त खुशी छु।”

लामाले सन् १९८६ मा दिल्लीबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए। सन् २०१३ मा नेपाल फर्किएपछि उनले तत्कालीन तेक्वान्दो युनियन नेपाल, हालको नेशनल तेक्वान्दो एसोसिएसन नेपालमा प्रमुख प्रशिक्षकका रूपमा काम गरेका थिए।

नेपालमा २०१५ को भूकम्पपछि उनी जुलाई २०१५ मा बेलायत पुगेका थिए। हाल उनी स्कटल्यान्डस्थित पर्थ एण्ड किनरोस काउन्सिलमा कार्यरत रहँदै तेक्वान्दो खेललाई निरन्तरता दिइरहेका छन्।

पछिल्ला केही वर्षयता उनले बेलायतको तेक्वान्दो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्। उनी सन् २०२२ र २०२३ मा स्कटिश नेशनल च्याम्पियन बनेका थिए भने २०२३ र २०२४ मा स्कटिश ओपन च्याम्पियन बन्न सफल भएका थिए।

त्यसैगरी उनले २०२३, २०२४ र २०२५ मा रिजनल च्याम्पियनको उपाधि जितेका थिए भने २०२३ मा लानार्कशायर ओपन च्याम्पियन पनि बनेका थिए।

लामाले २०२४ र २०२५ मा नटिङ्घममा आयोजित ब्रिटिश नेशनल प्रतियोगितामा पनि तेक्वान्दो पूम्से अन्डर–६० पुरुष विधामा सहभागिता जनाएका थिए।

विश्वस्तरीय प्रेसिडेन्ट कप G3 मा उनले हासिल गरेको पछिल्लो सफलता बेलायतस्थित नेपाली समुदायका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ। यो सफलता उनको निरन्तर मेहनत, समर्पण र खेलप्रतिको प्रतिबद्धताको प्रतिफल भएको बताइएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us