७ जुनमा आशफोर्डमा ‘गोर्खा वाक’ आयोजना गरिँदै
लन्डन – आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) आयोजना गर्न लागिएको छ।
गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औँ वार्षिक गोर्खा वाकमा यो वर्ष झन्डै २,००० जनाको सहभागिता हुने आयोजकले अपेक्षा गरेका छन्।
फाउन्डेसनका संस्थापक अध्यक्ष भीम तुम्बाहाम्फेले वीरता र साहसको सम्मान गर्दै ब्रिटिस सेनाको सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरूको सम्झनामा उक्त पदयात्रा आयोजना गरिँदै आएको बताए।
“हाम्रा नानी छोराछोरीले इतिहास बिर्सँदै गए। त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौँ । यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो, यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबिच समझदारी र सहकार्यमा मदत पुग्ने हाम्रो अपेक्षा छ,” उनले भने।
अध्यक्ष तुम्बाहाम्फेका अनुसार पदयात्राको लागि २ ओटा रुट तय गरिएको छ। पहिलो रुट छ साढे ६ किलोमिटर लामो हुनेछ भने दोस्रो रुट १३ किमी। “हामीले एक भिसी बराबर एक किलोमिटर राखेका हौँ,” उनले भने।
बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई मदत गर्ने उद्देश्यले सन् २०१३ मा स्थापना गरिएको गोर्खा पिस फाउन्डेसनले अहिले वर्षे नि नेपालका १६/१७ वटा स्कुलहरूलाई सहयोग गर्दै आएको छ। “हामीले नेपालमा विद्यालय भवन निर्माण, खानेपानी तथा शिक्षकको तलबमा पनि सहयोग गर्दै आएको छौँ।

साथै, बेलायतमा आफ्नै जग्गा किनेर बहुउद्देश्यीय सभा कक्ष सहितको आफ्नै भवन बनाउने पनि हाम्रो योजना छ, ” अध्यक्ष तुम्बाहाम्फेले भने।
७ जुनमा आयोजना गर्न लागिएको गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्ड लगायत अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ। लन्डन र आशफोर्डमा कार्यालयहरू रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजकको रूपमा रहेको छ। ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मीन दर्लामीले ‘गोर्खा वाक’ लाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए। “नेपाल तथा बेलायतबिच रहेको २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध र गोर्खालीहरूको योगदानको सम्झना चिरस्थायी गर्न युवा पुस्तालाई पनि सहभागी गराएर गरिने यस्ता कार्यक्रम उपलब्धिमूलक हुने हाम्रो विश्वास छ,” उनले भने।
