भानुभक्तको जन्मस्थल चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

४ घण्टा अगाडि

डायस्पोरा नेपाल

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् ।

भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई  मूर्त रूप दिने चिन्तन समेटिएको छ । रम्घाको शिखरमा गोलघरमाथि भानुभक्तको विशाल प्रतिमा स्थापना, त्यसको भित्रीभागमा भानुभक्तको जीवनीको झलक, उपयुक्त स्थानमा भानुभक्तसहित नेपालका विविध भाषाका आदिकवि र प्रमुख स्रष्टाहरूका मूर्ति स्थापना भानुभक्तको साहित्यिक व्यक्तित्वलाई चिनाउने अवधारणा समावेश छ । रामायण मन्दिर निर्माण गरी भानुभक्तको कृतित्वलाई मूर्त रूप दिने अवधारणा पनि छ ।

त्यसै गरी साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान र मनोरञ्जन उद्यान निर्माण गर्नु र भानुभक्तकालीन वस्ती र बजार क्षेत्र विकास गर्ने अवधारणा योजनामा छन् । उद्यानको अर्को प्रमुख अवधारणा सप्तधाम निर्माण गर्ने रहेको छ । यो अवधारणा वर्तमान नेपालको सङ्घीय संरचनाअन्तर्गत रहेका सातै प्रदेश र प्रमुख सांस्कृतिक स्थलका  लघु संरचना निर्माण गरी नेपालको राष्ट्रिय स्वरूपलाई झल्काउनु र राष्ट्रिय एकताको केन्द्रका रुपमा यसलाई विकसित गर्नु हो ।

यसअन्तर्गत नेपालको सात प्रदेशका सात प्रसिद्ध धाम निर्माण गरिने छ । पहिलो चरणमा कोशीको बराहक्षेत्रधाम, मधेशको जनकपुरधाम, बाग्मतीको पशुपतिनाथधाम, गण्डकीको मुक्थिनाथ धाम, लुम्बिनीको लुम्बिनीधाम, कर्णालीको चन्दननाथधाम र सुदूपश्चिमको वैद्यनाथधाम समेटिएका छन् । यस क्षेत्रमा तत् तत् क्षेत्रका सबै जात जातिका सांस्कृतिक पहिचानलाई थप्दै लैजाने योजना रहेको छ ।

उद्यानको शिलान्यास गर्दै राष्ट्रपति पौडेलले स्रष्टा मुलुकको पूँजी र पहिचान भएकाले  स्रष्टाको  सम्मान  गरी भाषा, साहित्यको विकासमा सरकार तथा सम्बद्ध सबै पक्षले ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा व्यक्त गरे  ।

“आज हामी भानुभक्तको जन्मस्थलमा उभिएका छौँ, भानुभक्तले यही भूमिमा हुर्के–वढेर काव्यकृतिहरू सिर्जना गरे, त्यसैले, हामीले भानुभक्तप्रति गर्ने सच्चा श्रद्धाञ्जली भनेको उनको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कतिको त्रिवेणीका रूपमा विकास गर्नु हो, यस्तो प्रयास निकैअघिदेखि प्रारम्भ हुँदै आएको पनि छ”, राष्ट्रपति पौडेलले भने  ।

भानु साहित्य उद्यानलाई  नेपालको साहित्यिक तथा सांस्कृतिक स्वरूपलाई जीवन्तता प्रदान गरी नेपाल र नेपालीको पहिचानलाई अझ अगाडि वढाउने अभियानका रूपमा बुझ्न जरूरी रहेको भन्दै यसलाई पूर्णता दिन आगामी दिनमा सबै क्षेत्रबाट निरन्तर सल्लाह, सुझाव तथा सहयोग प्राप्त हुँदै जाने विश्वास उनले  व्यक्त गरे  । साथै, उनले  सङ्घीय तथा प्रदेश सरकारसँग यस क्षेत्रको पहुँच मार्गका रूपमा रहेको कच्ची सडकलाई सुदृढीकरण गर्न र खानेपानीको आपूर्तिका निम्ति स्थायी स्रोत पहिचान गरी तत्काल कार्यान्वयन गर्न आग्रह गरे  ।

“भौतिक निर्माणको चरण प्रारम्भ भएको छ, त्यसलाई सघाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट योगदान दिनु जरुरी छ र निर्माणको चरण समाप्त नहुँदै चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकाताको केन्द्रका रूपमा समृद्ध बनाउन यो योजना अघि बढाउनु आवश्यक छ, त्यसका  निम्ति सर्वप्रथम परम्परागत संस्कृतिलाई जीवन्तता दिने गरी योजना बनाउन म यहाँका स्थानीय  समुदायसँग   अनुरोध गर्दछु”, राष्ट्रपति पौडेलले भने  ।

साथै उनले  स्वदेश तथा विदेशका साहित्यकारहरूलाई चुँदी रम्घामा आमन्त्रण गरी साहित्यिक, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न, विद्यार्थीको शैक्षिक भ्रमणमा चुँदी रम्घालाई अनिवार्य गन्तव्यका रूपमा समावेश गर्न तथा पदमार्गहरूको विकास एवम् चुँदी रम्घालाई रामायण र नेपाली संस्कृतिका अन्य केन्द्रसँग जोड्ने योजना बनाई सबै प्रकारका पर्यटकलाई चुँदी रम्घामा पुर्‍याउने योजना बनाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरे  ।

भानुभक्तले आजभन्दा दुई सय वर्षअघि संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरी प्राचीन सांस्कृतिक निधिसँग नेपाली समाजको भावनात्मक सम्बन्ध मजबुत तुल्याएको उनले स्मरण गरे  ।

“भानुभक्तका कवितामा पाइने नेपाली भाषाको सहज प्रयोग तथा नेपाली लोकलयको मिठासका कारण उनका कविताले नेपाली साहित्यको जग मजबुत तुल्याउँदै नेपाली भाषालाई लोकप्रिय भाषाका रूपमा विस्तार गर्दै लगेका थिए, सबै भाषाभाषीलाई बोलचालको भाषामा साहित्य सिर्जना गरी लोकको उपकार गर्न प्रेरणा दिएका थिए, अन्ततः भाषा, साहित्य र संस्कृतिको सङ्गमबाट नेपाली समाजमा साझा सांस्कृतिक सम्बन्ध मजबुत बन्दै जान थालेको थियो”, राष्ट्रपति पौडेलले भने  ।

साझा भूगोलमा बसोबास गर्ने जनतालाई भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न भानुभक्तको योगदान महत्वपूर्ण रहेको उनको  भनाइ थियो ।

“उनको योगदान नेपालको भौगोलिक सीमानामा मात्र सीमित छैन, नेपाली जाति जहाँ जहाँ पुगेको छ, त्यहाँसम्म पनि विस्तार भएको छ, भानुभक्तकै कारण आज हामी संसारको जुनसुकै कुनामा पुगे पनि नेपालीकारुपमा परिचित हुन पाएका छौँ”, उनले  भने  ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमनत्रीत्वकालमा २०५३ मा नेपाल सरकारले भानु जन्मस्थल विकास समिति गठन गरेको तथा पछि आफूले २०७० तिर भानु साहित्य उद्यानको अवधारणा प्रस्ताव गरेको उनले  स्मरण गरे  ।

भानु साहित्य उद्यानको परिकल्पनालाई साकार तुल्याउन सुरुमा भानु नगरपालिकामार्फत् योजना अघि बढाउनु परेको र अहिले शहरी विकास मन्त्रालयबाट यो आयोजना अघि बढ्न थालेको छ भन्दै उनले  भानु साहित्य उद्यान संस्थाले अहिले पनि योजना कार्यान्वयनका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्दे आइरहेको उल्लेख गरे  ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us