एनआरएनए र आइएफआरसीबीच मानवीय सहयोग र सहकार्य हुने

२ दिन अगाडि

डायस्पोरा नेपाल

बालुवाटार । गैरआवासीय नेपाली संघ (NRNA) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (IFRC) बीच आपसी सहकार्य तथा मानवीय सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ समन्वय बैठक सम्पन्न भएको छ ।

NRNA को केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त बैठकमा नेपालमा विपद् व्यवस्थापन, समुदाय सशक्तीकरण र मानवीय सहायताका क्षेत्रमा दुई संस्थाले कसरी मिलेर काम गर्न सक्छन् भन्ने विषयमा केन्द्रित रहेर घनिभूत छलफल भएको थियो।

बैठकमा IFRC नेपालका प्रतिनिधि प्रमुख डेभिड फिशर तथा मानवीय कूटनीति र सम्पर्क प्रबन्धक कृष्ण कुमार के.सी.को उपस्थिति रहेको थियो । त्यस्तै, NRNA को तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष टीका गुरुङ, एनसीसी संस्थापक अध्यक्ष कृष्ण पाण्डे र प्रमुख कार्यकारी अधिकृत (CEO) राजेन्द्र कुमार राउतले सहभागिता जनाउनुभएको थियो ।

छलफलका क्रममा विशेषगरी विपद्को समयमा प्रभावकारी प्रतिकार्य, विदेशमा रहेका नेपालीहरूको हित संरक्षण, र समुदायको उत्थानशीलता बढाउन सचेतनामूलक अभियानहरू सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो ।

दुवै पक्षले मानवीय सेवाका कार्यहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आगामी दिनमा निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस सहकार्यले नेपालमा हुन सक्ने प्राकृतिक विपद् र मानवीय संकटको समयमा राहत तथा उद्धार कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us