ट्रम्पको फिर्ता संकेतपछि इरान-अमेरिका युद्धविरामको जटिल समीकरण: इजरायल मौन, खाडी देशहरू असुरक्षित
पश्चिम एसियामा दशकौंदेखि चल्दै आएको शीतयुद्ध अब नयाँ मोडमा आइपुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैनिक द्वन्द्व अन्त्य गर्ने स्पष्ट संकेत दिएपछि यस क्षेत्रको भूराजनीतिक समीकरण नै परिवर्तन हुने देखिएको छ। ट्रम्पले अर्को दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना इरान छोड्ने प्रक्रिया सुरु हुने जानकारी ओभल अफिसबाटै दिएका हुन्।
ट्रम्पले इरानमा अमेरिकी सैनिक उपस्थितिको उद्देश्य पूरा भइसकेको र अब द्वन्द्व लम्ब्याउनु व्यर्थ रहेको बताएका छन्। बीबीसीका अनुसार, उनले युद्ध अन्त्यअघि कुनै समझदारी वा ‘डिल’ हुन सक्ने सम्भावनालाई भने पूर्ण रूपमा अस्वीकार गरेका छैनन्। उनको यो अभिव्यक्तिलाई विश्लेषकहरूले ‘रणनीतिक पूर्णविराम’को रूपमा व्याख्या गरिरहेका छन्।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि युद्ध अन्त्यको पक्षमा सकारात्मक सन्देश दिएका छन्। तर, उनले युद्ध पुनः नचर्किने ‘ग्यारेन्टी’ भए मात्रै इरान वार्तामा सहभागी हुने स्पष्ट पारेका छन्। यसले आगामी कूटनीतिक प्रक्रियामा प्रत्याभूतिको विषय केन्द्रमा रहने संकेत गर्छ।
अमेरिका फिर्ताको तयारीमा रहँदा उसको प्रमुख सहयोगी इजरायल भने नितान्त फरक धारणामा देखिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँगको संघर्ष अन्त्यको कुनै समयसीमा तोक्न नसकिने बताएका छन्। उनले ‘डेडलाइन’ दिन नसकिने अडान राखेपछि अमेरिका र इजरायलबीच रणनीतिक तालमेलमा चिरा देखिएको आकलन गर्न थालिएको छ।
यो भूराजनीतिक उथलपुथलका बीच फेब्रुअरी अन्तिम साता अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा गरेको आक्रमणले क्षेत्रलाई ठूलो सङ्कटमा धकेलेको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहितका उच्च अधिकारीको मृत्यु भएको थियो। खामेनेीको मृत्युपछि उनका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता घोषणा गरिए पनि उनको वर्तमान अवस्थाबारे कुनै आधिकारिक पुष्टि हुन सकेको छैन।
यस घटनाको बदलास्वरूप इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेको छ। यसले खाडीका सहयोगी देशहरूमा गहिरो असुरक्षा सिर्जना गरेको छ। इरानको जवाफी हमलाका कारण विश्वव्यापी इन्धन आपूर्ति शृङ्खला प्रभावित भएको छ, जसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा सङ्कटको त्रास बढाएको छ।
अहिले यस क्षेत्रको भविष्य तीनवटा प्रमुख ध्रुवका बीच दोधारमा छ। अमेरिकी राष्ट्रपति ट्रम्प फिर्तीको पक्षमा देखिँदा इरानले शर्तसहितको वार्तामा गन्तव्य खोजिरहेको छ। तर, इजरायलले ‘समयसीमाविहीन युद्ध’को नीति जारी राख्ने संकेत गरेपछि आगामी दिनहरू कूटनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहने देखिन्छ। पश्चिम एसियामा युद्धको मेघ गर्जन थमेको छैन, तर यसको विकल्प खोज्ने प्रयास भने तीव्र भएको छ।
