नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई गैरआवासीय नेपाली संघको बधाई

१ महिना अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ एनआरएनएले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरेको छ ।  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा ७६(१) बमोजिम शाह प्रधानमन्त्री पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

संघका अध्यक्ष डा. हेम राज शर्माले एक विज्ञप्ति जारी गर्दै नवनियुक्त प्रधानमन्त्री शाहको नेतृत्वमा राष्ट्रले सुशासन, भ्रष्टाचारमुक्त पारदर्शिता र दिगो विकासको नयाँ युगमा प्रवेश गर्ने विश्वास प्रकट गरे ।

प्रधानमन्त्री शाहको कार्यकालमा गैरआवासीय नेपाली संघ र विश्वभर छरिएर रहेका नेपालीहरूले नेपाल सरकारसँग रचनात्मक सहकार्य गर्दै विकास प्रक्रियामा एउटा दरिलो र विश्वसनीय साझेदारका रूपमा योगदान पुर्‍याउने अपेक्षा संघले राखेको छ। विशेष गरी विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको विशिष्ट अनुभव, ज्ञान, सीप र पूँजीलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणको महान् अभियानमा उनीहरूलाई अभिन्न साझेदार बनाइनेमा संघ पूर्ण रूपमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

जनताको अभूतपूर्व जनादेशसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका शाहको नेतृत्वले विगतका परम्परागत अभ्यासहरूलाई तोड्दै विश्व इतिहासमै नयाँ पुस्तालाई शासनको बागडोर सुम्पिएको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको संघको ठहर छ। यस ऐतिहासिक परिवर्तनले आम नेपालीमा नयाँ सोच, ऊर्जा र आशा जगाउनुका साथै राज्यको नेतृत्वप्रति जनताको भरोसालाई पुनः स्थापित गर्ने विश्वास संघले लिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us