एमालेमा संसदीय नेताका लागि समानुपातिकतर्फको दौडधुप

१ महिना अगाडि

डायस्पोरा नेपाल

 प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ पार्टीका सबै पदाधिकारी पराजित भएपछि एमाले अब संसदीय दलको नेतृत्व चयनको नयाँ द्वन्द्वमा फसेको छ। समानुपातिकतर्फ भने तीन पदाधिकारी सांसद बनेका छन्। यसअघिको परम्परा अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई दलको नेता र प्रमुख सचेतक बनाउने गरिए पनि यसपटक यो परम्परा भंग हुने संकेत देखिएको छ।

प्रत्यक्षतर्फ विजयी हुनेमध्ये पार्टीको आन्तरिक वरियतामा गणेशसिंह ठगुन्ना (दार्चुला) र राजेन्द्र राई (धनकुटा) अग्रपंक्तिमा देखिए पनि संसदीय दलको नेताका लागि उनीहरूको नाम चर्चामा छैन। एमाले स्रोतका अनुसार समानुपातिकबाट निर्वाचित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, निवर्तमान उपाध्यक्ष गुरुप्रसाद बराल, सचिव पद्मा अर्याल र लेखा आयोग अध्यक्ष डा. पुष्पराज कँडेलमध्ये एक जनालाई दलको नेता बनाउने तयारी गरिएको छ।

आन्तरिक वरियतामा डा. कँडेलपछि बरालको स्थान रहेको छ भने बादल दोस्रो पटक उपाध्यक्ष भइसकेका छन्। कम्युनिस्ट आन्दोलनको इतिहास बोकेका बादलको ज्येष्ठता पनि बराल र कँडेलसरह मानिन्छ। यसैबीच, अध्यक्ष केपी शर्मा ओली बादल वा बराललाई दलको नेता बनाउन चाहने पक्षमा देखिए पनि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल भने डा. कँडेलको पक्षमा लबिङ गरिरहेका छन्।

प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्रमुख सचेतक, सचेतक र संसदीय समितिको सभापति बनाएर व्यवस्थापन गर्ने विषयमा पनि छलफल भइरहेको छ। यसका लागि बझाङका ऐनबहादुर महर र इलाम–२ का सुहाङ नेम्बाङको नाम अगाडि आएको छ। तर, अध्यक्ष ओली यी दुवैप्रति सकारात्मक नभएको बुझिएको छ। महर टिकट वितरणकै क्रममा उपेक्षित भएका थिए भने नेम्बाङ पार्टीको महाधिवेशनमा ओली प्यानलमा सुरुमा नपर्दा पछि थपिएका थिए। यद्यपि, पार्टीभित्र उनीहरूमध्ये एक जनालाई प्रमुख सचेतक बनाउनुपर्ने मत बलियो देखिन्छ।

यी दुवै विकल्प नरहे संसदीय अनुभवका आधारमा ठगुन्ना र राईको सम्भावना बलियो हुने नेताहरूको आकलन छ। एमाले नेतृत्व अहिले आन्तरिक वरियता, संसदीय अनुभव र राजनीतिक सन्तुलनका बीच उपयुक्त जोडमिलानको खोजीमा जुटेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us