युद्ध प्रभावित नेपालीका लागि एनआरएनएको १ करोडको राहत कोष, पदाधिकारीद्वारा राजनीति त्यागको घोषणा

१ महिना अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले पश्चिम एसियामा जारी युद्धबाट प्रभावित नेपालीहरूको उद्धार र सहयोगलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ।

संघका नवनिर्वाचित  अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको १२औँ महाधिवेशन पछिको पहिलो बैठकले तत्काल १ करोड रूपैयाँको विशेष राहत कोष स्थापना गर्ने महत्वपूर्ण निर्णय गरेको छ। यो रकम युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको तत्कालीन आवश्यकता र राहतका लागि परिचालन गरिनेछ।

कोष अभिवृद्धिका लागि संघले एक वृहत् योजना अघि सारेको छ, जसमा पदाधिकारी र सदस्यहरूबाट थप १ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। यसका साथै, एनआरएनएमा आबद्ध करिब १ लाख ३० हजार सदस्यहरूबाट प्रतिव्यक्ति न्यूनतम १ डलर संकलन गरी राहत अभियानलाई समुदायस्तरमा पुर्‍याइनेछ। यो अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न संघले एक ‘विशेष टास्क फोर्स’ समेत गठन गरेको छ, जसको प्रत्यक्ष निगरानीमा संकलित रकम पश्चिम एसियाका पीडित नेपालीको हितमा खर्च हुनेछ।

संस्थागत सुदृढीकरण र शुद्धीकरणका लागि पनि नयाँ कार्यसमितिले ऐतिहासिक कदम चालेको छ। एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न नवनिर्वाचित पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुने सामूहिक प्रतिबद्धता जनाएको प्रवक्ता सोम सापकोटाले बताए।

यसलाई थप प्रभावकारी बनाउन पदाधिकारीहरूले सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी नगर्ने, कसैको व्यक्तिगत चरित्रहत्या नगर्ने र मर्यादित आचरण कायम राख्ने विषय समेटिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन्। यस निर्णयले एनआरएनएलाई विशुद्ध सामाजिक र परोपकारी संस्थाको रूपमा स्थापित गर्ने नयाँ बाटो देखाएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us