१२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै  एनआरएनएको १२ औँ विश्व सम्मेलन सम्पन्न

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ – १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ।

सोमबार सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न सबै एनआरएनहरूलाई आह्वान गरिन् ।

‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण र आर्थिक रूपमा समृद्ध बनाउने बताइन् ।

प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन् ।

सबै नवनिर्वाचित पदाधिकारीहरूलाई मङ्गलवार सङ्घको केन्द्रीय कार्यालयमा शपथ दिलाइने जनाइएको छ।

संघका प्रवक्ता गंगाधर गौतमले  काठमाडौँ घोषणापत्र पढेर सुनाएका थिए।

 काठमाडौँ घोषणापत्रको  पूर्ण पाठ :

गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन

फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६)

काठमाडौँ घोषणापत्र (Declaration)

“Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मूल नाराका साथ २०८२ साल फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा आयोजित १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

३० नोभेम्बर २०२५ मा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितमा भएको १० बुँदे सहमतिले संघभित्रको एकता, समझदारी र संस्थागत स्थायित्वको नयाँ आधार तयार गरेको थियो। सोही सहमतिलाई कार्यान्वयन गर्दै आज हामी एकताबद्ध रूपमा यस १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौँ। यस प्रक्रियामा मार्गदर्शन र संरक्षकत्व प्रदान गर्नु भएकोमा हामी सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

२०८२ साल फागुन ३० (१४ मार्च २०२६) गते परराष्ट्र मन्त्री माननीय बालानन्द शर्माज्यूले काठमाडौँस्थित सोल्टी होटेलमा पानसमा दीप प्रज्वलित गरी सम्मेलनको उद्घाटन गर्नुभएको थियो भने अधिवेशनको समापन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले गर्नुभयो।

सम्मेलनमा सम्माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू, कृषि मन्त्री मदन परियार ज्यू, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा ज्यू, वन तथा वातावरण मन्त्री माधव चौलागाईंज्यू, र पूर्व मन्त्री महन्त ठाकुर ज्यू, पूर्व मन्त्री प्रदीप ज्ञवालीज्यू, पूर्व मन्त्री रामकुमारी झाँक्रीज्यू, निवर्तमान तथा नवनिर्वाचित माननीयज्यूहरू, नेपाल सरकारका उच्चस्तरीय पदाधिकारीज्यूहरू, एनआरएनएका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरूलगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरू, एनआरएनएका प्रतिनिधिहरू, संस्कृतिविद्, लगानीकर्ता, श्रमिक प्रतिनिधि, युवा पुस्ता, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

सम्मेलनका ४ हजार २ सय ८६ प्रतिनिधिमध्ये काठमाडौँमा ४०० प्रतिनिधि प्रत्यक्ष रूपमा उपस्थित भएका थिए भने बाँकी प्रतिनिधिहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए। यस सम्मेलनमार्फत विश्वभर छरिएर बसेका नेपाली समुदायले एकताको भावनासहित नेपालको समृद्धि, विकास तथा विश्वव्यापी नेपाली समुदायको हितका लागि निम्न प्रतिबद्धताहरू व्यक्त गर्दछौँ:

१. गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानुनी सुधार गर्न संघ आग्रह गर्दछ। नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा भौतिक पूर्वाधार विकास र नेपालीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरूको लगानी प्रोत्साहित गर्न संघ प्रतिबद्ध छ।

२. गैरआवासीय नेपालीहरूको सहभागिता वृद्धि गर्नका लागि चल तथा अचल सम्पत्तिको कारोबार, धितो पत्रमार्फत लगानी, लगानी तथा लगानी राफसाफका लागि बैङ्क खाता खोल्न तथा लगानी फिर्ता लैजान गैरआवासीय नेपालीहरूको लगानी व्यवस्थापन गर्न छुट्टै निकाय खडा गर्ने र यी सबै कार्य सहज बनाउन एनआरएन ऐन, नागरिकता ऐन, आयकर ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, मालपोत ऐन तथा नियमावलीहरू संशोधन गर्न नेपाल सरकारसँग सम्मेलन हार्दिक अनुरोध गर्दछ। साथै नेपाल सरकार र गैरआवासीय नेपालीहरूको पहलमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डबाट जारी हुने धितो पत्रको सीमा ८५% अविलम्ब कायम गर्न माग गर्दछ।

३. मध्यपूर्वको पछिल्लो अवस्थाप्रति हामी अत्यन्त चिन्तित र गम्भीर छौँ। मध्यपूर्वका विभिन्न भागमा रहेका नेपालीहरू सङ्कटमा परेको अवस्थामा राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन एनआरएनएले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

४. नेपालको संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने गरी गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुनी र नीतिगत सुधारका लागि नेपाल सरकारसँग सहकार्य र पहल गर्ने प्रतिबद्धता गर्दछौँ ।

५. विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था र नेपाल सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार र सहयोगको पहल गर्नेछौँ ।

६. प्रवासमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका युवाहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

७. विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा सहकार्य गर्दै ज्ञान, प्रविधि र नवप्रवर्तनको आदानप्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउनेछौँ।

८. जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि तथा नव प्रवर्तनमूलक उद्योगहरूमा गैरआवासीय नेपाली लगानीलाई प्रोत्साहन गर्दै नेपाल सरकारसँग सहकार्य गरी लगानीमैत्री वातावरण निर्माणका लागि पहल गर्नेछौँ ।

९. प्रवासमा रहेका नेपाली समुदायमार्फत नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाललाई विश्वसामु चिनाउने अभियानलाई अझ सशक्त बनाउनेछौँ।

१०. विश्वभर रहेका नेपालीहरूको एकता, ज्ञान, अनुभव र पुँजीलाई नेपालसँग जोड्दै “हाम्रो एकता, समृद्धिको आधार” नारालाई व्यवहारमा उतार्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपालको निर्माणमा योगदान गर्ने सामूहिक सङ्कल्प व्यक्त गर्दछौँ ।

११. एनआरएनएको १२ औँ विश्व सम्मेलन तथा एकताको महाधिवेशनबाट नव निर्वाचित नेतृत्वले अब बन्ने नयाँ सरकारसँग निरन्तर सहयोगको अपेक्षा गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

१२. गैरआवासीय नेपाली संघलाई विश्वभरका नेपालीहरूको साझा र समावेशी संस्थाका रूपमा सुदृढ बनाउँदै एकता, सहकार्य र पारस्परिक सम्मानको संस्कृतिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

अन्त्यमा गैरआवासीय नेपाली सङ्घको १२ औँ विश्व सम्मेलन तथा महाधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने नेपाल सरकारका साथै अन्य सरोकारवाला सबै निकायहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

काठमाडौँ, नेपाल

चैत २, २०८२ (१६ मार्च २०२६)

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us