नेपाल अहिले नयाँ परिवर्तनको चरणमा छ :प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छिन्।
सोमबार काठमाडौंमा आयोजित एनआरएनएको १२ औं ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको बताइन्।
उनले भनिन्,‘नेपाल अहिले नयाँ परिवर्तनको नयाँ चरणमा छ । नयाँ जनादेश र बद्लिदो राजनीति परिवेशले मूलुकलाई स्थायित्व,विकास र समृद्धि अघि बढाउने आशा जगाएको छ ।’
उनले नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवद्र्धन आवश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले सबै गैरआवासीय नेपालीलाई मातृभूमिप्रतिको माया र जिम्मेवारी सम्झँदै नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह गरिन्।
उनले भनिन्,‘नेपालको विकास र समृद्धिको लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको सहकार्य लगानी ज्ञान,नवनप्रवद्र्धन आवश्यक हुन्छ । त्यसलै सबै गैरआवसिय नेपालीलाई मातृभूमिप्रतिको माया जिम्मेवारीलाई सम्झेर नेपालको विकासमा सक्रियतापूर्वक लाग्न आग्रह व्यक्त गर्दछु।’
उनले मातृभूमिप्रतिको प्रेमले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गर्दै जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गर्न र देशको प्रगति तथा समृद्धिका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
[गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन तथा विश्व सम्मेलन]
प्रधानमन्त्री सुशीला कार्कीको मन्तव्य
माननीय मन्त्रीज्यूहरू,
गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरू,
१२औँ महाधिवेशन तथा विश्व सम्मेलन आयोजक समितिका पदाधिकारीहरू,
विश्वका विभिन्न मुलुकबाट यहाँ उपस्थित सम्पूर्ण प्रतिनिधिहरू,
महिला तथा सज्जनवृन्द,
सबैभन्दा पहिले, गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन तथा विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समिति, सहभागी प्रतिनिधिहरू तथा यस प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सबैमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।
साथै, नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गर्ने यो महत्त्वपूर्ण सम्मेलनको समापन समारोहमा सहभागी हुन पाउँदा मलाई हर्ष लागेको छ।
मेरो उपस्थितिमा गत नोभेम्बर ३० (मंसिर १४) मा गरिएको गैरआवासीय नेपाली संघको एकताको घोषणापछि आयोजना भएको यस सम्मेलनले हामी सबैमा साझा प्रतिबद्धता, नयाँ सहकार्यको वातावरण र मुलुकको विकासतर्फ अग्रसर हुने स्पष्ट मार्गदर्शन गरेको अनुभूति मैले गरेको छु।

नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ। नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ। यस्तो महत्वपूर्ण समयमा यहाँहरूले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकासमा सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्नुभएको छ, जसका लागि म तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु।
तपाईंहरू वास्तवमा नेपालको सद्भावना दूत हुनुहुन्छ। तपाईंहरूसँगै नेपालको पहिचान पनि संसारभर फैलिरहेको हुन्छ। विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ। तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृतिलाई विश्वसामु परिचित गराइरहनुभएको पनि छ। यसका लागि म तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको छ। यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने सेतु हो। यसले तपाईंहरू जहाँ रहे पनि आफ्नो ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा योगदान गर्न सक्ने अवसर सुनिश्चित गरेको छ।
यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि म तपाईंहरूलाई हार्दिक आह्वान गर्दछु। तपाईंहरूको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउनेछ।
नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु हाम्रो साझा लक्ष्य हो। नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा तपाईंहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ।
वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहनेछ भन्नेमा म विश्वस्त छु।
गैरआवासीय नेपालीहरूको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुन्छ। यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी हो। यसले विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीबीच आर्थिक समुन्नति मात्र होइन, पहिचान र सामाजिक एकतालाई पनि सुदृढ बनाउनेछ।
महिला तथा सज्जनवृन्द,
गैरआवासीय नेपाली संघ विश्वभरका नेपालीहरूको साझा छाता संस्था हो। विगत केही समयदेखि विभिन्न समूहहरूबीच विभाजन, अलगअलग गतिविधि र मुद्दा मामिलासम्म पुगेको भन्ने कुरा हामीले सुन्दै आएका थियौँ। तर आज तपाईंहरू सबै एउटै मञ्चमा, एउटै ब्यानरमुनि उभिएर सर्वसम्मत नेतृत्व चयन गरी अगाडि बढ्ने प्रण लिएको देख्दा मलाई अत्यन्त खुसी लागेको छ। यो केवल संगठनको एकता मात्र नभई विश्वभर रहेका नेपालीहरूको भावनात्मक एकताको सूत्र बन्न सकोस् ।
एकता र मेलमिलापभन्दा ठूलो शक्ति अरू केही हुँदैन। मतभेद हुन सक्छन्, विचार फरक हुन सक्छन् तर अन्ततः हामी एक हुनैपर्छ । यही नै हाम्रो नेपाली संस्कृतिको सौन्दर्य हो।
विभिन्नता, बहुलता र विमतिका बीच पनि सहिष्णुता, सद्भाव र सहअस्तित्वका साथ अघि बढ्नु हाम्रो पहिचान हो।
हाम्रो सनातन संस्कृतिले “आफू बाँच र अरूलाई पनि बचाऊ” भन्ने मन्त्र दिएको छ। यही भावनाका साथ तपाईंहरूले भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का बेला देशलाई ठूलो सहयोग गर्नुभएको छ। लगानी भित्र्याउने अभियान सञ्चालन गर्नुभएको छ। विदेशमा जन्मे–हुर्केका नयाँ पुस्तालाई पनि नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। यस्ता कामहरू एकताबद्ध भएर गर्दा अझ प्रभावकारी हुनेछन्।
हालै सम्पन्न आमनिर्वाचनले नयाँ जनादेश दिएको छ। र जनतामा नयाँ आशा जागृत भएको छ। यो आशालाई उपलब्धिमा रूपान्तरण गर्नु हाम्रो साझा दायित्व हो। अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउनेछ भन्ने मेरो विश्वास छ।
म यहाँहरूसमक्ष पुनः अनुरोध गर्दछु कि- नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन। स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि हार्दिक आह्वान गर्दछु।
अन्त्यमा, यस महाधिवेशनबाट व्यक्त भएको एकता, प्रतिबद्धता र मातृभूमिप्रतिको प्रेमले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिनेछ भन्ने विश्वास व्यक्त गर्दछु। जहाँ रहे पनि नेपाली हुनुमा गर्व गर्ने वातावरण निर्माण गरौँ र मातृभूमिको प्रगति तथा समृद्धिका लागि हातेमालो गर्दै अघि बढौँ।
धन्यवाद।
काठमाडौँ
२०८२ चैत २
