एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ ।

सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षलगायत सबै पदमा सहमतिका लागि छलफल जारी छ”, उनले भने ।

एनआरएनएले यसअघि भौतिक र अनलाइन दुवै माध्यम प्रयोग गरी निर्वाचन गराउने तयारी गरेको थियो । निर्वाचन भएमा चार हजार २८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको सङ्घले जनाएको थियो ।

एनआरएनएको अध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मत चयन भए पनि औपचारिक घोषणा सोमबारमात्रै हुने भएको छ । सुरुमा तीन जनाले उम्मेदवारी दर्ता गरेकोमा २ जना प्रत्यासीले शर्मालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

यसैबीच, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित रहेको जानकारी दिए । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण धेरै प्रतिनिधि भौतिक रूपमा सहभागी हुन नसकेको उनले बताए ।

“मध्यपूर्वमा भइरहेको युद्धको प्रभावले धेरै प्रतिनिधि भौतिक रूपमा उपस्थित हुन पाउनुभएन । एकताको महाधिवेशन भएकाले अनलाइनमार्फत भए पनि सबै उत्साहपूर्वक सहभागी भइरहेका छौँ”, बस्नेतले भने ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us