गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन एवम् एकता महाधिवेशन सुरु

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन एवम् एकता महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।

सम्मेलनको परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गरे । उद्घाटनका क्रममा मन्त्री शर्माले नेपालको संविधान, योजना तथा अन्य विषयगत कानुनहरूमा गैरआवासीय नेपालीलाई राष्ट्रको समग्र विकासको साझेदारका रूपमा स्वीकार गरिएको स्मरण गरे ।

उनले गैरआवासीय नेपालीका लागि अहिले नीतिगत व्यवस्थासँगै आत्मीयता, पारस्परिक विश्वास, साझा संस्कृति र जिम्मेवारीको भावना पनि बढाउँदै लैजानु पर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । मन्त्री शर्माले गैरआवासिय नेपाली समुदायसँग रहेको अनुभव, अन्तर्राष्ट्रिय सम्पर्क, सञ्जाल तथा पूँजी नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण स्रोत भएको र यसले औद्योगिक विकास, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जनामा थप योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको भन्दै उहाले त्यस ठाँउमा रहेका नेपाली नागरिकहरूको अवस्थाप्रति स्वाभाविक चासो बढेको बताए ।

नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइरहेको उहाले जानकारी दिए । उनले दीर्घकालीन लगानी, उत्साहमुखी, उत्पादनमुखी उद्योग, प्रविधि हस्तान्तरण, नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्रको विकासतर्फ विशेष ध्यान केन्द्रित गर्नुपर्ने समय आएकाले सवैबीच सुदृढ सहकार्य आवश्यक रहेको बताए । गैरआवासिय नेपालीहरूलाई नेपालको संविधानले प्रदान गरेको अधिकारको सुनिश्चितताका आवश्यक कानुन सुधार गर्न अन्तर निकाय समन्वय, छलफल र सहजीकरणका कार्य परराष्ट्र मन्त्रालयको नेतृत्वमा भइरहेका उनको भनाइ छ ।

उनले वर्तमान परिस्थितिमा विशेषगरी पश्चिम एसिया तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरूको अवस्थाप्रति नेपाल सरकारको चासो बढेको बताए ।

उनले भने, ‘वर्तमान समयमा विश्वका केही क्षेत्रहरुमा देखिएका अस्थिरता तथा द्वन्द्वले प्रवासमा रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्ता बढाएको छ । नेपाल सरकार यसप्रति सजग छ । पश्चिम एसियाली तथा मध्यपूर्वी क्षेत्रका विकसित घटनाक्रमका कारण त्यहाँ कार्यरत नेपालीहरुको अवस्थाप्रति स्वभाविक रुपमा हाम्रो चासो बढेको छ । विदेशमा रहेका नेपाली नागरिकहरुको समस्या सम्बोधनको लागि परराष्ट्रमन्त्रालयले इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ । यस इमर्जेन्सी कन्ट्रोल रुम मार्फत विदेशमा रहेका नेपाली नागरिकहरु तथा नेपालमा रहेका उहाँका परिवार र आफन्तहरुको बीचमा परराष्ट्रमन्त्रालयले पुन सेतुको काम गर्ने छ ।’

विदेशमा रहेका नेपाली नागरिकहरूको समस्या समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालनमा ल्याएको जानकारी दिँदै मन्त्री शर्माले उक्त संयन्त्रमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपालमा रहेका उनका परिवार तथा आफन्तबीच मन्त्रालयले पुनः सेतुको काम गर्ने बताए ।

मन्त्री शर्माले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित देशका आधिकारिक निकायबाट जारी हुने सूचनाबारे जानकारी राख्न तथा त्यहाँ रहेका नेपाली राजदूतावासको सम्पर्कमा रहन आग्रह गरेका छन् ।
उनले भने, ‘द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरुले सम्बन्धित देशका आधिकारिक निकायबाट जारी हुने सूचनाको बारेमा जानकारी राख्न हुन र त्यहाँ रहेका नेपाली राजदूतावासको सम्पर्कमा रहन अनुरोध गर्न चाहन्छु ।’
यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरूको हकहित संरक्षणका लागि सहयोग गरेको भन्दै उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति विशेष धन्यवाद व्यक्त गरे । आगामी दिनहरूमा पनि एनआरएनएबाट निरन्तर सहयोग जारी रहनेमा आफू आशावादी रहेको उनले बताए ।

 

उनले भने, ‘यस विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकहरुको हकहित संरक्षणको लागि सहयोग गर्नुभएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु । आगामी दिनहरुमा पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट निरन्तर सहयोग जारी रहने कुरामा आशावादी छौं । आजको विश्वमा प्रवासी समुदायको भूमिकाका सम्बन्धमा हाम्रो सोचलाई व्यापक बनाउन नितान्त आवश्यक भैइसकेको छ ।’
मन्त्री शर्माले आजको विश्व परिवेशमा प्रवासी समुदायको भूमिकाबारे सोचलाई अझ व्यापक बनाउनु आवश्यक भइसकेको पनि उल्लेख गरे ।

यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा.उपेन्द्र महतोले नेपाललाई विश्वकै सबैभन्दा समृद्ध र शान्त देश बनाउन सकिने बताएका छन् । उनले सबैले सङ्कल्प गर्न सक्यो भने छोटो समयमै नेपाल धेरै समृद्ध र शान्त हुन सक्ने बताए ।

उनले भने, ‘नेपाल तपोभूमि, देवभूमि र सुन्दर भूमि हो । संसारको सबैभन्दा समृद्ध, सबैभन्दा सभ्य, शान्त र सुन्दर देश बनाउन सकिने देश नेपाल हो, हामीले सङ्कल्प गर्यौं भने छोटो समयमै नेपाल धेरै समृद्ध र शान्त हुन सक्छ ।’
साथै आफूले व्यक्तिगत रूपमा जतिसुकै ठुलो सफलता प्राप्त गरे पनि देश समृद्ध नभएसम्म त्यसको कुनै अर्थ नहुने महसुस गरेरै एनआरएनए अभियान सुरु गरिएको उनले स्मरण गराए । तर, २३ वर्षपछि पनि सबै गैरआवासीय नेपालीहरू एकै ठाउँमा उभिन नसकेको भन्दै उनले दुः ख व्यक्त गरे ।

उनले भने ‘२३ वर्ष पछाडि फेरि एकताको कुरा गरिरहँदा खाली हल देखेर र पसिना–रगत बगाएर सारा संसारलाई बनाइरहेका तर आफ्नो देश बनाउन आतुर भएका साथीहरू यहाँ उपस्थित हुन नसकेको देखेर मेरा आँखाबाट आँसु छचल्किरहेको छ ।’

डा. महतोले विदेशमा रहेका नेपालीहरूले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरकै रेमिट्यान्स पठाइरहेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई राष्ट्र निर्माणमा लगानी गर्नुपर्ने बताए । १० देखि २० वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

चैत्र २ गतेसम्म चल्ने सम्मेलनमा गैरआवासीय नागरिकता, संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, लगानीको बिषय लगाएतका बिभिन्न सत्रमा छलफल हुने संघले जनाएको छ । विश्व सम्मेलन एवम् एकता महाधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

 

 

 

 

 

 

 

 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us