‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौँमा हुँदै

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (NRNA) को १२ औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन आगामी २०८२ फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौँमा आयोजना हुने भएको छ।

“Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मुख्य नाराका साथ हुन लागेको यस सम्मेलनको उद्घाटन फागुन ३० गते बिहान ९ बजे हुने कार्यक्रम तय भएको छ। विगत २३ वर्षदेखि विश्वभरका नेपालीहरूलाई एक सूत्रमा बाँध्दै आएको यस संघले हाल ९२ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। १० औँ र ११ औँ महाधिवेशनपछि देखिएका आन्तरिक चुनौतीहरूलाई चिर्दै सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा भएको ऐतिहासिक एकता पछि यो सम्मेलन हुन लागेको हो, जसले संघको स्थायित्व र भावी यात्रालाई थप मजबुत बनाएको छ।

सम्मेलनको मुख्य आकर्षणको रूपमा रहेको नयाँ नेतृत्व चयनका लागि मार्च १४ को साँझदेखि १५ को साँझसम्म निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ। यसपटकको निर्वाचन भौतिक र अनलाइन गरी ‘हाइब्रिड’ मोडलमा हुनेछ, जसमा कुल ४ हजार २ सय ८६ प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्। यद्यपि, संघले यसपटक नेतृत्व चयनमा सर्वसम्मतिको विशेष पहल गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा गठित उच्चस्तरीय आयोजक समितिले सम्मेलनका सम्पूर्ण तयारीहरू पूरा गरिसकेको छ।

तीन दिने यस महाधिवेशनमा गैरआवासीय नेपाली ऐन, संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, संयुक्त लगानी, पर्यटन, स्वास्थ्य तथा ज्ञान-सीप हस्तान्तरण जस्ता महत्त्वपूर्ण विषयहरूमा घनीभूत छलफल हुनेछ। विशेषगरी दोस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखिएको यस सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न देशका एनआरएन अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। चैत २ गते साँझ ५ बजे प्रधानमन्त्रीद्वारा समापन गरिने यस ऐतिहासिक सम्मेलनलाई सफल पार्न संघले सम्पूर्ण गैरआवासीय नेपाली तथा सञ्चारकर्मीहरूमा उत्साहपूर्ण सहभागिता र सहयोगका लागि  अपिल गरेको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us