एनआरएनए महाधिवेशनमा मध्यपूर्वको संकटलाई उच्च प्राथमिकता 

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको १३औँ बैठकले मध्यपूर्व क्षेत्रमा उत्पन्न पछिल्लो संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आसन्न १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका प्रक्रियाहरूमा महत्वपूर्ण लचकता अपनाउने निर्णय गरेको छ।

 बिहीबार बसेको बैठकले विश्वभरका अभियन्ता, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र उम्मेदवारहरूबाट प्राप्त सुझाव एवं निर्वाचन स्थगित गर्नुपर्ने मागका सन्दर्भमा छलफल गर्दै विशेष परिस्थितिमा अनलाइन र भौतिक दुवै निर्वाचन विधिलाई आत्मसात गर्ने नीति लिएको हो। मध्यपूर्वको विकसित घटनाक्रमका कारण नेपाल आउन असमर्थ भएका उम्मेदवार तथा प्रतिनिधिहरूको हक संरक्षण गर्न संघले उम्मेदवारी दर्ता, सनाखत र शपथ ग्रहण समेतका सम्पूर्ण प्रक्रियाहरू भर्चुअल माध्यमबाटै पुरा गर्न सकिने व्यवस्था गरेको छ।

बैठकले आसन्न महाधिवेशनलाई केवल नेतृत्व चयनको थलो मात्र नबनाई मध्यपूर्वको संकट समाधानका लागि विशेष पहल गर्ने थलोका रूपमा समेत परिभाषित गरेको छ। स्टेरिङ कमिटीका अनुसार महाधिवेशनमा मध्यपूर्वको पछिल्लो अवस्थालाई उच्च प्राथमिकता दिँदै एक विशेष ‘संकल्प प्रस्ताव’ समेत प्रस्तुत गरिनेछ। यस सम्बन्धमा सरोकारवालाहरूलाई आफ्ना सुझावहरू संघको आधिकारिक इमेलमार्फत पठाउन आग्रह गरिएको छ। परिस्थिति नियन्त्रण बाहिर रहेकाले भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि निर्वाचन प्रक्रियामा लचकता अपनाउनु परेको बाध्यतालाई बुझिदिन संघले अपिल गरेको छ।

स्टेरिङ कमिटीले संस्थाभित्र अत्यधिक रूपमा सर्वसम्मतिको वातावरण निर्माण गर्न प्रयास जारी रहेको जानकारी दिँदै १२औँ गैरआवासीय नेपाली विश्व सम्मेलन एवं महाधिवेशनलाई उत्साहपूर्ण र सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपालीहरूमा हार्दिक अनुरोध गरेको छ। प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रविधिको अधिकतम प्रयोग गरी सबै क्षेत्रका नेपालीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने संघको यो निर्णयलाई प्रवासी नेपालीहरूबीच अर्थपूर्ण रूपमा हेरिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us