एनआरएनएको १२औँ विश्व सम्मेलनको तयारी तीव्र: परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय छलफल

२ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा बसेको उक्त बैठकमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा सम्मेलनको तयारी, आपसी समन्वय र थाँती रहेका प्रक्रियाहरूलाई चाँडो टुङ्ग्याउने विषयमा केन्द्रित रहेर विस्तृत छलफल गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री शर्माले एनआरएनएभित्रको नेतृत्वगत चुनौतीहरू यसै महाधिवेशनमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले एनआरएनएको विश्वव्यापी सञ्जालको प्रशंसा गर्दै अनलाइन भोटिङलाई प्रभावकारी बनाउन सके सरकारले समेत त्यसलाई भविष्यमा अवलम्बन गर्न सक्ने सङ्केत दिनुभयो। “हाम्रो एकता, समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेल र समापन प्रधानमन्त्रीबाट हुने तय भएको छ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अनलाइनमार्फत मनोनयन दर्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो। त्यस्तै, अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपालीहरूसँग वार्षिक २० खर्ब रुपैयाँ बराबरको पूँजी रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेमा वार्षिक २ खर्बभन्दा बढी लगानी नेपाल भित्र्याउन सकिने सम्भावना औंल्याउनुभयो।

बैठकमा सहभागी सरकारी अधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई देशको विकासमा जोड्न नीतिगत उदारता र कानुनी अड्चनहरूको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us