एनआरएनए यूकेद्वारा आइसीसी सचिव राधिका गुरुङको स्वागत तथा बिदाइ
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघकी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सचिव राधिका गुरुङ (टिका) लाई एक भव्य समारोहका बीच स्वागत तथा बिदाइ गरेको छ । पारिवारिक भ्रमणको सिलसिलामा बेलायत पुगेकी सचिव गुरुङलाई फार्नबरोस्थित गोर्खा रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत र बिदाइ गरेका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष पुडासैनीले सचिव गुरुङले गैरआवासीय नेपाली संघमा खेलेको सक्रिय भूमिकाको उच्च प्रशंसा गरे । हङकङ एनआरएनएको अध्यक्ष हुँदै संघको आइसीसी सचिवको जिम्मेवारीसम्म आइपुग्दा गुरुङले देखाएको कार्यकुशलताले प्रवासी नेपालीहरूको हकहितमा ठुलो टेवा पुगेको चर्चा गर्दै अध्यक्ष पुडासैनीले आगामी दिनमा पनि उनीबाट यस्तै प्रभावकारी भूमिकाको अपेक्षा गरिएको बताए ।
बिदाइ कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रामशरण सिंखडा, आइसीसी सदस्य दिलराज गुरुङ, एनआरएनए यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, पूर्व आइसीसी सदस्य दिनेश घिमिरे तथा इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष राम माया बिष्टको उपस्थिति रहेको थियो।
त्यसैगरी, तमुधी यूकेका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्ता रामचन्द्र गुरुङ (सुर्जे), एनआरएनए यूके कार्यसमिति सदस्य प्रमोद भण्डारी र प्रवक्ता श्याम लुईटेलले समेत सचिव गुरुङको कार्यकालको सफलताको कामना गर्दै उनलाई बिदाइ गरेका थिए । कार्यक्रममा उपस्थित वक्ताहरूले सचिव गुरुङको सरल व्यक्तित्व र प्रवासमा रहेका नेपालीहरूका समस्या समाधानमा उहाँले पुर्याएको योगदानको चर्चा गरेका थिए ।










