स्वर्गीय मण्डलको सम्झनामा सन्डरल्याण्डमा श्रद्धाञ्जली सभा
लन्डन -गत साता दिवङ्गत भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको सम्झनामा सन्डरल्याण्डमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
सोमबार आयोजित कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, समाजसेवी सुमन केसी, बद्री खड्का, सन्डरल्याण्ड विश्वविद्यालय नेपाली समाजका अध्यक्ष विवेक काफ्ले, विद्यार्थी साथीहरू स्वस्तिका न्यौपाने, सञ्जीव भट्टराई, विवेक शाह लगायत नेपाली समुदाय, छिमेकी र विद्यार्थीहरूको उपस्थितिमा २ मिनेट मौन धारण गर्दै मैनबत्ती बालेर फूल माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरियो।
सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।
एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले यस दुःखद घडीमा साथ, सहयोग र प्रार्थनाका लागि सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै स्वर्गीय मण्डलप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै भने, “जहाँ नेपाली त्यहाँ नेपाल छ, सुख दुःखमा एनआरएनए सधैँ साथमा छ”। साथै स्वास्थ्य वा व्यक्तिगत समस्यामा परे सम्बन्धित निकायसँग तुरुन्त सम्पर्क गर्न उनले आग्रह पनि गरे । विवेक काफ्लेले मण्डलजस्तो प्रतिभाशाली विद्यार्थी साथी गुमाउनुपर्दा गहिरो दुःख व्यक्त गरे ।
‘१० हजार पौण्ड बढी सहयोग सङ्कलन’
स्व मण्डलको शव नेपाल पठाउन सुरु गरिएको अभियानबाट ‘गो फन्ड मी’ मार्फत १० हजार ५०० पाउन्ड भन्दा बढी सहयोग रकम सङ्कलन भइसकेको छ ।
लक्ष भन्दा बढी सहयोग सङ्कलन भएकाले आइतबारदेखि नै चन्दा सङ्कलन बन्द गरिएको एनआरएनए युके अध्यक्ष पुडासैनीले जनाए । । उनले यो मानवीय अभियानमा सहयोग गर्ने युकेवासी सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरे।
हनुमान नगर, कंकालिनी १० सप्तरी स्थायी निवासी २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा गत सोमबार निधन भएको थियो । श्वास प्रश्वासमा एक्कासि समस्या आएपछि मण्डल अस्पताल भर्ना भएका थिए ।
सन् २०२३ सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका मण्डल केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।
स्वर्गीय मण्डलको पार्थिव शरीर आउँदो शनिवार नेपाल पठाउने तयारी भइरहेको छ।
