निर्वाचनमा भ्रामक विज्ञापन र डीपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । प्रतिनिधि सभा सदस्य पदका लागि यही फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूको साझा दायित्व रहेको विज्ञापन बोर्डले जनाएको छ ।

बोर्डले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनका क्रममा सामाजिक सञ्जाललगायत विभिन्न माध्यम प्रयोग गरी कुनै दल, उम्मेदवार वा नेता–कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा होच्याउने, भ्रम सिर्जना गर्ने गतिविधि बढ्दै गएको गुनासो प्राप्त भएको उल्लेख गरेको छ ।
निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचन अवधिमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन तथा कारबाही गर्ने सहमति भइसकेको जनाउँदै बोर्डले निर्वाचनसम्बन्धी विज्ञापनको सूक्ष्म निगरानी गरिरहेको स्पष्ट पारेको छ । मतदातालाई भ्रममा पार्ने, होच्याउने तथा भ्रामक श्रव्य र श्रव्यदृश्य सामग्री प्रयोग गर्ने कार्यप्रति कडा निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन बोर्डले विशेषगरी कृत्रिम प्रविधि प्रयोग गरी तयार गरिएका डीपफेक सामग्री, फेक आईडीमार्फत प्रचारप्रसार, असत्य तथा अपुष्ट सूचना प्रकाशन–प्रसारण नगर्न सबै पक्षलाई आग्रह गरेको छ । साथै, सामाजिक सञ्जालमा रहेका भ्रमपूर्ण सामग्रीलाई लाइक, सेयर, कमेन्ट वा ट्याग नगर्न पनि अनुरोध गरिएको छ ।

यदि कुनै माध्यममा भ्रामक विज्ञापन वा प्रचार सामग्री प्रकाशित वा प्रसारित भएको पाइएमा विज्ञापन बोर्डमा जानकारी गराउन आग्रह गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, नियमावली, २०७७ तथा निर्वाचन आचारसंहिता, २०८२ विपरीत गतिविधि भए कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि बोर्डले दिएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us