रास्वपाको स्पष्टिकरण : सामाजिक सद्भाव र राष्ट्रिय एकताप्रति अडिग

३ महिनाs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारका विषयमा व्यक्त भएका चासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टीले नेपालको संविधान, प्रचलित कानून तथा मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति आफू सधैं सजग र प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

रास्वपाले जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुनारले पार्टीमा आबद्ध हुनुअघि दिएका केही अभिव्यक्तिका कारण समाजमा उत्पन्न अन्योल तथा धार्मिक–सांस्कृतिक भावनामा पुगेको ठेसप्रति सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको स्पष्ट पारिसकेका छन्।

‘खगेन्द्र सुनारले रास्वपामा जोडिनु अगाडि व्यक्त गर्नुभएका अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना गरिसक्नुभएको छ। उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको“ प्रष्ट पारिसक्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीले सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरू तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उम्मेदवारले आत्मलोचना गर्दै क्षमायाचना गरेको जनाएको छ ।

यसैगरी, पार्टीले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराइएको जनाएको छ। उम्मेदवारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले आफ्नो विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्मरण गराएको छ। साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्न पार्टी सधैं कटिबद्ध रहने स्पष्ट पारेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us