एनआरएनए र परराष्ट्र मन्त्रीबीच महाधिवेशन तयारीबारे छलफल
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेट गरी संघको १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी गराएको छ। संघका अध्यक्ष बद्री केसीको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले सम्मेलनको हालसम्मको प्रगति विवरण मन्त्रीलाई बुझाएको हो।
भेटका क्रममा प्रतिनिधिमण्डलले महाधिवेशनका लागि गठन हुने मूल आयोजक कमिटीको प्रगतिबारे चासो राखेको थियो। परराष्ट्र मन्त्रीको अध्यक्षतामा सरकारले उच्चस्तरीय आयोजक समिति गठन गर्ने कानुनी व्यवस्था छ। सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको जानकारी मन्त्रालयले दिएको छ।
छलफलमा उपाध्यक्ष हेमराज शर्माले यसपटकको महाधिवेशन बृहत् एकतासहित आयोजना हुन लागेको बताए। उनले परराष्ट्र मन्त्रालयले तयार पारेको गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा मन्त्रालय र संघ मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिए। यस विषयमा सहकार्य गर्न दुवै पक्ष सहमत देखिएका छन्। भेटघाटमा संघका कोषाध्यक्ष सुदन थापा र सीईओ राजेन्द्र कुमार राउतको पनि उपस्थिति थियो।
