एनआरएन यूकेको कार्यालय हप्तामा पाँच दिन खुला

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयबाट हप्तामा पाँच दिन बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने भएको छ ।

एनआरएनए युके कार्य समितिको मंगलबार बसेको बैठकले ुएनआरएन डेु को अवसरमा आइतबार उद्घाटन गरिएको कार्यालयबाट अब हप्तामा पाँच दिन आफ्ना पन्जिकृत सदस्य तथा बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने निर्णय गरेको हो । अध्यक्ष प्रेम गाहामगरले निर्वाचन अगाडी आफ्ना एजेन्डाहरु सार्वजनिक गर्दै आफू अध्यक्षमा निर्वाचित भएमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता अनुसार कार्यालय स्थापना भइसकेको र अब कार्यालयबाट नियमित रुपमा सेवा सन्चालन गरिने उनले बताए । ‘बेलायतस्थित नेपाली समुदायको सहयोग र सुझाव अनुरुप क्रमिक रुपमा आफ्ना सबै प्रतिबद्धताहरु पुरा गर्न म प्रतिबद्ध छु,’ उनले भने।

अध्यक्ष गाहामगर बाहिर कुनै कार्यक्रम वा मिटिंग भए बाहेक हप्तामा पाँचै दिन कार्यालयमा उपस्थित हुने छन् भने ३३ सदस्यीय कार्यसमितिबाट महिनामा कम्तीमा एक दिन एक जनाले सेवा प्रदान गर्ने छन् । त्यसको कार्यतालिका पनि तय गरिने भएको छ । ‘कार्यसमितिका ३३ जनामध्ये अध्यक्ष बाहेक पालैपालो कम्तीमा एक जना पदाधिकारी तथा सदस्यको कार्यालयमा उपस्थिति हुने छ,’ गाहा मगरले प्रतिवद्धता जनाए ।

अध्यक्ष बाहेकका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु कार्यालयमा उपस्थित भई सेवा प्रदान गर्ने कार्यतालिका तय गर्न अध्यक्ष गाहामगर र कार्य समिति सदस्य चम्पा थापालाई जिम्मेवारी दिइएको छ । अध्यक्ष गाहामगर र सदस्य थापाले कार्य समितिका सबै पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरी कुन दिन कुन पदाधिकारी उपस्थित हुने तालिका निर्धारण गर्नेछन् ।
त्यस्तै, बेलायती नेपाली समुदायले भोग्दै आएका समस्या पहिचान गरी ती समस्या समाधानका लागि कार्यालयबाट आवश्यक सेवा प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले समस्याको पहिचान र सेवा क्षेत्र निर्धारण गर्न अध्यक्ष गाहामगरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा उपाध्यक्षहरु मोहन कार्की र गोविन्द खरेल, महासचिव खुसी लिम्बू र प्रवक्ता भरतमणि चोङवाङ सदस्य रहेका छन् । ‘कार्यदलले समस्याको पहिचान गरी सेवा क्षेत्र तय गर्ने छ र सोही अनुसार कार्यालयबाट सेवा प्रदान गरिने छ,’ अध्यक्ष गाहामगरले भने ।

सोही कार्यदलले बेलायतमा स्थापना गरिने नेपाल हाउसको योजना र तयारीका बारेमा पनि काम गर्ने छ । अध्यक्ष गाहा मगरले बेलायतबासी नेपाली समुदायलाई कुनै समस्या परेमा एनआरएनएको कार्यालयमा सम्पर्क गर्न र आवश्यक सेवा प्राप्त गर्न पनि आग्रह गरेका छन्।

एनआरएन कार्यालयबाटै दूतावासको सेवा

बेलायतस्थित नेपाली दूतावास र एनआरएनए यूकेबिच हरेक महिनामा एक दिन एनसीसी यूकेको अल्डरशटस्थित कार्यालयबाट दुतावासले घुम्ती सेवा प्रदान गर्ने सहमति भएको छ ।

सहमति अनुसार महिनामा एक दिन दूतावासका कर्मचारी एनसीसीको कार्यालयमा उपस्थित हुने छन् र दूतावाबासबाट प्रदान गरिने सेवा प्रदान गर्ने छन् ।

‘राजदूतावास पुग्न नसक्ने नेपालीहरुलाई यसले ठूलो सहयोग पुर्याउने छ,’ अध्यक्ष गाहामगरले भने । यो सेवाबाट विशेष गरी स्थानीय जनसमुदायसहित वृद्धवृद्धाहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । ‘भाषाको समस्याका कारण असजिलो महसुस गर्नेहरुलाई पनि यसले ठूलो मद्दत पुर्याउने छ’, गाहा मगरले भने ।
निर्वाचनमा गरिएको प्रतिबद्धता अनुसार आफूले कार्ययोजना बनाएर सेवा प्रदान गर्न लागिएको गाहामगरले बताए । ‘चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेको थिएँ, त्यसलाई कार्यान्वयनमा लैजाने प्रयासमा गरेको छु,’ उनले भने ।

गत अगस्ट पहिलो साता सम्पन्न निर्वाचनले गाहा मगरको नेतृत्वमा ३३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । अध्यक्ष गाहा मगरकै प्रतिबद्धतामा सहमति जनाउने पदाधिकारी तथा सदस्यहरु पनि निर्वाचित भएका थिए । एउटै प्रतिबद्धतामा सहमत साथीहरु निर्वाचित भएकोले काम गर्न सहज भएको गाहामगरले बताए ।

© 2022 All Right Reserved DiasporaNepal